काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । आइतबार बिहान ७ बजे सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट सभामुख सापकोटाले मतदान गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
आइतबार गोरखाको सिरानचोकस्थित परोपकार आदर्श माविको क मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।
गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।
आइतबार बिहान तनहुँको व्यास २ स्थित सत्यवती माविको मतदान केन्द्र पुगेर पौडेलले मत हालेका हुन् । सत्यवती माविको मतदानस्थलको मतदान केन्द्र ख बाट पौडेलले पहिलो मत खसालेका हुन् ।
पौडेल गठबन्धनका तर्फबाट तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मत हालेका छन् ।
आइतबार बिहान तुलसीपुर १९, बिजौरीस्थित जनता विद्यापिठ मतदान केन्द्रमा पुगेर महासचिव पोखरेलले मतदान गरेका हुन् ।
पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको प्रतिस्पर्धा सत्ता गठबन्धनकी रेखा शर्मासँग हुँदैछ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले गृहजिल्ला पर्वतको मोदी गाउँपालिका ७, राम्जाको पशुपति मावि क केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान ७.३० बजे मतदान गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार नै आफ्नो गाउँ पुगेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले मत दान गरेका छन् ।
आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५, सेरीगाउँको श्री यमुना नन्द नमुना माध्यामिक विद्यालयको मतदान केन्द्र पुगेर अर्थमन्त्री शर्माले मत हालेका हुन् ।
अर्थमन्त्री शर्माले बिहान सात बजे नै मत हालेका हुन् । अर्थमन्त्री शर्मा सत्ता गठबन्धनका तर्फबाट रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मतदान गरेका छन् ।
आइतबार बिहान उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिकाको भण्डारा अस्पतालमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
पाण्डे चितवन १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनीसँग सत्ता गठबन्धनबाट कांग्रेसका डा. विश्वनाथ पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।
ललितपुर ३ की सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।
ललितपुर–२, कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । मतदानपछि भुसालले भनिन्, ‘म उत्साहित छु । मेरो जित पनि सुनिश्चित छ । निर्वाचनले सबैलाई उत्साह दिएको छ ।’
उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की उम्मेदवार छन् । ललितपुर ३ मा नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले दुईपटक चुनाव जितिसकेकी छन् । उनले ०६४ को पहिलो संविधानसभाको चुनाव र ०७४ को चुनावमा निर्वाचित भएकी थिइन् ।
एमालेका उपाध्यक्ष इश्वर पोखरेलले आइतबार बिहान टोखा नगरपालिका ६, हात्ती चोक मतदान केन्द्रमा पुगेर पोखरेलले मतदान गरेका हुन् ।
एमालेका पोखरेल काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् ।
रुपन्देही– २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले डिभिजन सडक केन्द्रको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
आइतबार झापाको मेचीनगर ९ स्थित कवि शिरोमणि मावि केन्द्रमा पुगेर महामन्त्री शर्माले मतदान गरेका हुन् ।
शर्मा सत्ता गठबन्धनका तर्फबाट झापा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । शर्मासँग एमालेका अग्निप्रसाद खरेल चुनावी मैदानमा छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट भट्टराईले पहिलो भोट खसालेका हुन् ।
पहिलो भोट खसाल्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको उनले बताएका छन् ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् ।
गुल्मीको मदाने ४, म्यालपोखरीको महेपोखरी माविको केन्द्रमा पुगेर झाँक्रीले मतदान गरेकी हुन् ।
झाँक्री सत्ता गठबन्धनका तर्फबाट गुल्मी २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् ।
आइतबार बिहान मैतीदेवी मतदान केन्द्रमा पुगेर महामन्त्री थापाले मतदान गरेका हुन् ।
थापा सत्ता गठबन्धनका तर्फबाट काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
आइतबार बिहान चावहिल महाकालस्थित पानीट्यांकी मतदान केन्द्र पुगेर लामिछानेले भोट हालेका हुन् । रवि आफू भने चितवन २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
मतदान लगत्तै रवि आफू चुनाव लडेको क्षेत्र चितवन २ जाने कार्यक्रम छ ।
जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले भोट खसालेका छन् ।
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राईले मतदान गरेका हुन् ।
उनले लोकतन्त्रको महाकुम्भमा सहभागी भएर आफूले जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै विवेकपूर्ण मतदान गर्न अपिल गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।
अध्यक्ष थापाले आइतबार बिहान हेटौँडा ६ स्थित वंशगोपाल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
थापा एमालेको चुनाव चिह्न सूर्य लिएर मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।