उम्मेदवारले पैसा बाँढेको पुष्टि भए एक वर्ष कैद र ५० हजार जरिवाना, उम्मेदवारी के हुन्छ ?

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रवार साँझ पक्राउ गर्‍यो । निर्वाचन प्रभावित हुनेगरी नगद वा जिन्सी दिन वा लिन नपाइने कानुनी व्यवस्था छ ।

यदि उम्मेदवार निरौलाले नगद बाँडेको पुष्टि भए निर्वाचन कसुर ऐन २०७३ अनुसार कारबाही हुने छ । उक्त ऐनको दफा २१ मा नगद वा जिन्सी दिन वा लिन नहुने भनिएको छ ।

उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुदैन, कसुर ऐनमा भनिएको छ । उक्त कार्य गर्ने व्यक्तिलाई पचास हजार रुपैया“सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अब उम्मेदवारी के हुन्छ ?

पक्राउ परेका निरौलामाथी प्रहरीले थप अनुसन्धान गर्ने छ । पैसा बाँडेको आधार फेला परेमा प्रहरीले अदालतमा मुद्दा चलाउने छ । अदालतबाट फैसला नभएसम्म उनको उम्मेदवारी कायम हुने निर्वाचन आयोगका एक अधिकृतले बताए । अदालतमा मुद्दा पर्छ । त्यसपछि अदालतले नै फैसला गर्छ । आयोगले गर्दैन, ती अधिकारीले भने ।
आयोगले स्थिर समयमा दल र उम्मेदवारको सूक्ष्म निगरानी गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रहरीले उम्मेदवार निरौलासँगै बुढानिलकण्ठ नगरपालिका वडा ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोललाई पनि पक्राउ गरेको छ ।

सम्बन्धित समाचार