लोसपाका प्रदेशसभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी ४ (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी .(लोसपा) का उम्मेदवार मेहतालाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेशसभा सदस्य पदका लागि अयोग्य ठहर गरिएको आयोगले जनाएको छ ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा ९६० सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानुनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ ।

मेहताको उम्मेदवारी बदर भएसँगै उक्त निर्वाचन क्षेत्रका लागि अर्को मतपत्र छापेर पठाउन समय अभावका कारण नभ्याइने आयोगले जनाएको छ । जसका कारण मेहनाको निर्वाचन चिह्न साइकलमा कुनै मत परेमा त्यो मत स्वतः बदर हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार