आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाएको आयोगले बताएको छ ।

बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर र प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए ।

आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरूलाई आग्रह गरे । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरूलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए ।

उनले ऐन, कानुन बनाउनेहरूले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरूले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका कार्यक्रम गरी आचारसंहिताको उल्लंघन गरिरहेको बताए । उनले हरेक उम्मेदवार र दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे ।

निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वार्ता सुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको जानकारी दिए । उनले आयोगले उम्मेदवारहरूले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए ।

सम्बन्धित समाचार