सुर्खेत विद्युत् प्राधिकरणमा गुण्डागर्दी किन ?
गाेविन्दनाथ याेगि
सुर्खेत । विद्युत् प्राधिकरण सुर्खेत शाखामा सेवाग्राही उपभोक्ताहरूले कर्मचारीहरूको लापरबाहीका कारण आफूले तिरेको महसुल अन्य ग्राहकको खातामा रकम जम्मा हुँदा लामो समयपछि लाइन काटिने वा एकैपटकमा जरिवानासमेत मोटो रकम पुनः तिर्नुपरेको धेरै उपभोक्ताहरूको गुनासो छ । कर्मचारीहरूकै लापरबाहीले पुनः रकम तिर्नुपरेकोले त्यस्ता समस्या समाधान गर्न आग्रह गर्दा उल्टै सेवाग्राहीहरूलाई अभद्र व्यवहार हुने गरेको छ ।
त्यस्तै घटना म आफैंले पनि भोग्नुप¥यो । २०७६ वैशाख १५ गते विद्युत्को महसुल बुझाउन बिलिङ काउन्टरमार्फत सधैँ एकैसाथ बुझाउने गरेका २ वटा आफ्नै नामका कार्ड पेश गरी रकम बुझाई रसिद प्राप्त गरेँ । पछाडि हेर्दा नाम मिले पनि एउटा रसिदमा १०५ रुपैयाँ विलम्ब शुल्क जोडिएको देखेपछि तुरुन्त अगाडिका महिनाहरूमा समयमै बिल भुक्तानी गर्ने गरेकोले कसरी विलम्ब शुल्क लाग्यो भनी कर्मचारीबाट बुझ्न खोजेँ । “अघिल्लो महिना दुईवटा कार्डको बिल एकै मितिमा एकैसाथ भुक्तानी गरेको रसिद मसँग घरमा छ, यसमा कुनै समस्या पक्कै भयो हेरिदिनुहोस्” भन्दा प्रतिउत्तरमा कर्मचारीले झर्किएर लापरबाहीका साथ “अघिल्लो महिना नतिरेको कारण हर्जाना लागेको हो, केही समस्या छैन” भने । उनको त्यस्तो कुरा सुनेर पुनः मैले हेर्न आग्रह गर्दा बिलिङ शाखा प्रमुखले कडा शब्दमा “तपाईँ कस्तो चुतिया मान्छे रहेछ । अघिल्लो महिनाको बिल समयमै नतिर्ने अहिले किचकिच गर्ने ?” भने । मैले “गालीगलौज नगर्नुस्, अघिल्लो महिना भुक्तानी गरेको रसिद ल्याएर आउँछु अनि हिसाब गरौँला” भनी फर्किएँ ।
२०७६ वैशाख २९ गते अघिल्लो महिना भुक्तानी गरेको रसिद लिएर दिनको १२ बजेतिर पुगी ‘हेरिदिनुस्’ भन्दा “अहिले हुँदैन, ३ बजेपछि आउनु” भनेपछि म फर्किएँ र पुनः ३ बजे गएँ । त्यतिबेला बिलिङ शाखा प्रमुखसहित ६–७ जना कर्मचारीहरू त्यहाँ जम्मा भएका थिए । त्यत्तिबेला मैले मेरो कुरा राख्दा मेरो कुरा राम्रोसँग सुन्नुभन्दा “तपाईँ कुरा नबुझ्ने मान्छे रहेछ । अब कुलमानलाई फोन गरेहुन्छ कि आफैँ कुलमान हुन खोजेको हो ?” भनी अपमानजनक व्यवहार भएपछि म कोठाबाट बाहिर आई सुरक्षागार्डसँग कुरा गर्दै थिएँ । त्यत्ति नै बेला मेरो पछि आएका कर्मचारीहरूले “यो मान्छेलाई घोक्रेठ्याक लगाएर गेट बाहिर निकाल” भने । त्यहाँ त्यत्तिबेला ममाथि हातपात हुने स्थिति देखेर म तत्काल बाहिर निस्किएँ ।
भोलिपल्ट वैशाख ३० गते विद्युत् कार्यालयका लापरबाही गर्ने कर्मचारी र ममाथि भएको दुव्र्यवहारको छानबिन गरी कारबाही गरिपाउँ भनी विद्युत् शाखा सुर्खेतका कार्यबाहक प्रमुखसमक्ष निवेदन दिएँ । तर, मेरो निवेदनको हालसम्म सुनुवाइ भएको छैन । कर्मचारीहरूको आर्थिक हिनामिना, लापरबाही र गुन्डागर्दीको ढाकछोप गर्नेमा कार्यालयका हाकिमहरूकै मिलेमत्तो भएको देखिएको छ ।
हुन त प्राधिकरण शाखा सुर्खेतमा उक्त घटनामात्र होइन, कार्यालयमा समेत हाजिर मिलाएर विश्वविद्यालयमा पढ्ने, घरायसी काम गर्ने, चालू योजनाहरूमा लापरबाही, सेवाग्राहीका समस्यामा ढिलासुस्तीजस्ता विकृतिबाट समेत मुक्त हुनसकेको अवस्था छैन । आम उपभोक्ताहरूको चासो चिन्ता र सरोकारको विषय बन्दै आएको छ ।





