राजस्व छुट पाएपछि जुम्लामा बढ्यो जग्गामा महिलाको स्वामित्व
जुम्ला : जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ। चालु आर्थिक वर्षको अहिलेसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको छ।
चालु आर्थिक वर्षमा भएका ८६० लिखतमध्ये १२५ वटा महिलाको नाममा पास भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका ७ गाउँपालिकाका ५४ जना र एक नगरपालिकाका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए।
‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको छ‚’ उनले भने, ‘राजस्वमा छुट हुने भएकाले सम्पत्तिमा महिलाको पहुँच बढ्दै गएको छ।’
पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा राजस्व छुट दिने प्रावधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको प्रमुख रोकायले बताए। महिलाको नाममा जग्गा पास गर्दा राजस्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्ट बताउँछन्।
नगरपालिकाको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाको नाममा जग्गा रजिस्ट्रेशन भए राजस्वमा ५० प्रतिशत छुट पाइन्छ।
‘महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा १० लाख ७३ हजार ८३५ रूपैयाँ राजस्वमा छुट भएको छ‚’ कार्यालय प्रमुख रोकायाले भने, ‘नगरपालिकाका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिकाका ५४ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा १ लाख ३ हजार रूपैयाँ राजस्व छुट भएको छ।’
दलित र अपांगता भएकालाई २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेशन गर्ने दलित समुदाय र अपांगता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था छ। चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेशन भएको छ।
७ गाउँपालिकाका ३१ जना दलितले आफ्नो नाममा जग्गा रजिस्ट्रेशन गर्दा ३१ हजार २७३ र नगरपालिकाका १२ जना दलितले जग्गा रजिस्ट्रेशन गर्दा ६० हजार २७ रूपैयाँ राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले जानकारी दिए।
‘मालपोत कार्यालय जुम्लाको सेवा सुधारोन्मुख छ। जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोतलाई सेवा प्रवाह छिटोछरितो बनाउनतर्फ लागेका छौं‚’ प्रमुख रोकायले भने‚ ‘यही आर्थिक वर्षको हालसम्म ८३० वटा लिखत (राजीनामा) पास भएको छ।’
९९ लाखभन्दा बढी राजस्व संकलन
चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले ९९ लाख ९६ हजार ५६१ रूपैयाँ राजस्व संकलन गरेको छ।
जसमध्ये जग्गा रजिस्ट्रेशनतर्फ ६७ लाख ९० हजार ३१२ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख रोकायाको बताए। यस्तै‚ पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८८३ रूपैयाँ संकलन भएको छ।
रोकायाका अनुसार विविधतर्फ ८७ हजार ३६६ रूपैयाँ राजस्व उठेको छ। पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ।
मोठ फाँटमा एकजना मात्रै कर्मचारी
मालपोत कार्यालय सेवाग्राहीको बढी घुइँचो हुने सरकारी कार्यालयमध्ये पर्छ। मालपोत कार्यालयको पनि मोठ फाँट सबैभन्दा बढी सेवाग्राहीको घुइँलो लाग्ने फाँट हो। तर‚ जुम्लाको मालपोतको यस फाँटमा एक जना कर्मचारीको भरमा चलेको छ।
यो फाँटका लागि कम्तीमा जना कर्मचारी चाहिने भए पनि त्यहाँ कार्यरत खरिदार सुरुवा भई गएकाले अहिले फाँटमा आफूले मात्र धानेको देवेन्द्र जिसीले बताए।
मोठ फाँटका जिसीले एक्लै नै जुम्लाका साविकका ३० वटा गाविसका मोठ भिडाउने, रुजु गर्ने, रोक्का, राजीनामा, दाखिल खारिज, नामसारीको टिप्पणी र अन्य संशोधन टिप्पणीलगायत सबै काम गर्दै आएका छन्।
दुई जनाको काम एक्लै गर्दा भ्याइनभ्याई भएको उनले बताए। उनका अनुसार कर्मचारी अभावमा मालपोतमा कामको बोझ धेरै छ।
यस्तै‚ कार्यालयमा खरिदार र कम्प्युटर अपरेटर रिक्त रहेको कार्यालयका प्रमुख रोकायाले बताए। कार्यालयमा इन्टरनेट र कम्प्युटरको समस्या रहेको उनको भनाइ छ। कार्यालयमा नायब सुब्बा ३, खरिदार ३, सह-लेखापाल १, कम्प्युटर अपरेटर ३ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १४ जना कर्मचारी छन्।
नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पद खाली नै रहेकाले सेवा प्रवाहमा कठिनाइ छ। सिँजा गाउँपालिकाले काम सहज पार्न एक जना कम्प्युटर अपरेटर पठाएको हुनाले केही राहत भएको उनले बताए।








