जुम्लामा हिमपातले हिउँदे बालीलाई राहत हुने (फोटो फिचर)

जुम्ला ः जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा बुधबार विहानदेखी भारी हिमपात भएको छ । मंगलबारदेखि मौसममा फेरबदल आएसँगै जुम्लामा हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका – १ का स्थानीयवासि मञ्जु बुढाले बताइन । उनले भनिन,“विगत तीन बर्षदेखि बच्चालाई पढाउन सदरमुकाम खलङ्गामा बस्दै आएको छु ।

गतबर्ष भन्दा यो बर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ बच्चालाई निकै सास्ती भएको छ । विद्यालयमा गएर पढ्ने अवस्था छैन । पहिलो धेरै हिउँ पर्ने गरेको थियोे अहिले कम गर्न गरेको स्थानीयवासि बुढाले बताए ।

जिल्लाको पातारासि र गुठीचौर गाउँपालिमाको उच्च ठाउँमा बाक्लो हिमपात परेको गाउँपालिका कर्मचारी बताउँछन । अहिले खलङ्गामा हिउँ परिरहेको छ । मङ्सिर महिना सुरु भएदेखि नै जुम्लाको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ ।

हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँपरेपछि जुम्लाबाट नेपालगन्ज सम्मको उडान गर्दै आएका हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटादुरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यतायात समितिले जनाएको छ ।

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि जुम्लाका किसानलाई भने राहत भएको छ । हिउँदे बालीनाली लाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका – २ का रमिला भण्डारीले बताइन ।

जिल्लाका किसानले लगाएको हिउँदे बालीलाई फाइदाजनक भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली,हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको कृषि विकास कार्यालय जुम्लाका प्रविधिक सुकिराम नेपालीले बताउनुभयो । स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

अत्यधिक जाडो बढ्यो

हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ ।जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विसाल नेपालीले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । जुम्ला प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ।

जाडोका कारण जनजीवन कष्टकर हुनेहुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन । बालबालिका र बृद्धबृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि भनेको प्रशासनले जनाएको छ ।


error: Alert: Content is protected !!