महिलाको आफ्नै पाठेघर आफ्नो छैन

जुम्ला ः केहि दिन पहिला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा एक हलमा महिलाहरु बसेका छन् । सायद कुनै विषयमा तालिम अथवा गोष्ठि जस्तो थियो । उक्त भिडियोमा एक जना महिला भन्दै थिइन जन्मेको घर दाई भाईको ,विवाह गरी आएको घर श्रीमानको , हाम्रो आफ्नो भनेको त त्यहि पाठेघर रहेछ ।
उक्त भिडियो मैले धेरै पटक हेरे ,उक्त भिडियामा बोलेका कुराले मेरो मनमष्तिस्क हल्लायो । धेरै दिनसम्म सोचे । किन कि मैले मेरो जिल्लाका अधिकांश महिलाहरुको पिडा थाह पाएकी छु । जसको आफ्नो भनिएको पाठेघरपनि आफ्नो नभएर पिडाले छटपटिएकी छन् ।
पछिल्लो समयमा अझ हामी महिलाहरु ‘मेरो शरिर मेरो अधिकार’ भन्न थालेका छौ । तर मलाई लाग्छ आफ्नै भनिएको महिलाको पाठेघर पनि आफ्नो होइन । आफ्नो हुदो हो त मेरो जिल्ला अथवा जुम्लाका अधिकांश महिलाहरु पाठेघरको विमारीले आक्रान्त हुने थिएनन् ।
महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो । जहाँ जति लेखिए पनि, जति बोलिए पनि हामी महिलाले आफ्नो जिवनको बारेमा आफै निर्णय गर्न पाउदैनौ । अहिलेपनि हाम्रो निर्णय अरुले गर्छन् । विवाह नहुदासम्म आमा बुबा दाई भाई विवाह भएपछि श्रीमान,ससुरा सासु जेठाजुले निर्णय गर्छन् ।
पछिल्लो समयमा छोराको आशमा परिवार र श्रीमानको दबाबले भूर्ण पहिचान गर्ने प्रवृति गाउँ गाउँ पुगेको छ । भूर्णमा नै छोरी भएमा पटक पटक गर्भपतन डरलाग्दो रुपमा देखिएको छ ।

महिलाको इच्छा नहुदा पनि घरपरिवार र श्रीमानको दबाबमा गर्भ पतन गर्न बाध्य छन् । जसले गर्दा महिलाको पाठेघरमा असर पर्नेमात्र होइन क्यान्सर जस्तो विमारी हुने गरेको अध्ययनले देखाएको छ ।
धेरै बच्चा जन्दाउदा सुत्केरी भएको समयमा पोशिलो खानेकुरा पाउदा पछि पाठेघर खस्ने समस्या विकराल बनेको छ । या भनेको महिलाको आफ्नो भनेको पाठेघर पनि अरुको नियन्त्रणमा छ । त्यहि भएर त श्रीमान र घरपरिवारको दाबाबका गर्भपतन गर्नबाध्य छन् ।
गर्भपतन भुसको आगोजस्तै फैलीएको छ । पटक–पटक गरिने गर्भपतनले महिलाको पाठेघरमा विभिन्न विमारी देखिन्छन् ।जसमा पाठेघर खस्ने समस्या सबै भन्दा बढी देखिएको छ । जसले गर्दा महिलालाई एकातिर मानसिक तनाब हुन्छ भने अर्को तिर शारीरिक समस्या । महिलाहरुमा देखिने पाठेघरका प्रमुख समस्या मध्य पटक–पटकको गर्भपतन रहेको चिकित्सकहरु बताउँछन् ।
दुर्गमका महिलाहरु अनिच्छित गर्भलाई फाल्न खोज्दा पटक–पटक जोखिममा पर्ने गर्दछन् । औषधि खुवाएर गरिने गर्भपतनभन्दा दक्ष जनशक्तिको अभावमा औजार प्रयोग गरेर जबरजस्त गरिने गर्भपतनले महिलाहरु बढी जोखिममा पर्ने गरेका छन् । स्थानीय तहमा गतिलो स्वास्थ्य संस्था नहुनु,दक्ष जनशक्ति नहुनु चुनौति बनेको छ ।
दोस्रो विकराल समस्या बनेको छ छाउबडी प्रथा । जुन सरसफाइ बढी गर्नु पर्ने समयमा झन फोहर नै बस्नु पर्ने समस्या छ । मासिक रुपमा हुने छाउ( महिनावारी) हुनु पाठेघरसंग नै सम्बन्धित छ । यसमा हुने गडबडी पनि पाठेघरसंग नै समबन्धित छ ।
महिलाको जिवनमा महत्वपूर्ण अंग पाठेघरका बारेमा महिला आफै पनि सचेत छैनन् । चेतनाको समस्या पनि प्रमुख छ ।
गाउँघरमा सानै उमेरमा विवाह हुदा पनि महिलाको पाठेघरमा समस्या आउने अध्ययनले जनाएको छ । उमेर नपुग्दै बच्चा जन्मदा महिलाको स्वास्थ्यमा र पाठेघरमा समस्या आउने चिकित्सक बताउछन् ।

दुर्गम गाउँहरुमा त सानै उमेरमा हुने विवाहका कारण पाठेघरमा बढी समस्या आउने गरेको चिकित्सक बताउछन् । जुम्लामा पनि पाठेघरको समस्या किराल बनेको छ । अझ यसमा पाठेघर खस्ने समस्या बढी छ ।
जुम्लामा बालविवाह समस्याको रुपमा रहेको छ । तिलागाउपालिका ८ जुम्लाकोटकी पञ्चकली रावतको १४ वर्षमा विवाह भयो । १५ वर्षमा आमा बनिन् । ३० वर्ष नपुग्दै १० सन्तानकी आमा बनीन् । ४ सन्तान मरे । ६ सन्तान छन ।
उनको पाठेघर खस्यो । महिनावारी नभएको समयमा समेत रगत बग्न थाल्यो । डल्लो बाहिर देखिन थाल्यो । उनको अस्था जटिल भएपछि सर्वोदय नेपालको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेशन भयो । वालविवाहका कारण उनको स्वास्थ्यमा समस्या आयो । पाठेघरमा समस्या आयो ।

त्यस्तै ,तिलागाउपालिका ९ मालापानीकी जैसरी बुढाको पनी पाठेघरमा समस्या छ । उनको पनि बालविवाह भएको थियो । उनी १२ वर्षको हुदा विवाह भएको बताउछिन् । उनले१७ वर्षमा पहिलो सन्तान जन्माइन् । उनको पाठेघरको समस्या दिनदिनै बढ्दै गएको छ । उनले पाठेघरको उपचार गराउन पाएकी छैनन । उनले २५ वर्षको उमेरमै ८ सन्तान जन्माइन् । त्यही अवधिमा आङ (पाठेघर) खस्यो ।
रोग छिप्पिँदै गएपछि तल्लो पेट दुख्ने समस्या बढेको बुढा बताउछिन् । बढाका अनुसार मालापानी गाउँमा धेरै महिलामा पाठेघरको समस्या देखिएको छ ।
विस्तारै अहिले गाउँघरमा चेतनाको विकास भएको छ । महिलाहरु सुत्केरी हुदा र छाउ (महिनावारी) हुदा गोठमा बस्थे । तर अहिले घरमा बस्न थालेका छन ।
अल्पआयुमा नै मुत्यु
महिलाहरु पाठेघर खस्ने र पाठेघरसम्बन्धि अन्य समस्याका कारण अकालमै मृत्यु हुने गरेका छन् । जुम्लाको मालापानी गाउँमा महिला पाठेघरको विमारीका कारण मृत्यु भएको स्थानीय बताउछन् । केहि महिलाहरु त पाठेघरका विमारी हुदा उपचार नै पाउदैनन् । उपचार पाउनुको सट्टा सौता पाउछन् । जसको उदाहरण हुन मालापानी गाउँकी महिला । उनले उपचार पाएनन् उल्टै सौता पाए ।
त्यहि गाउँका दुधकली बुढा र सुन्धरा थापा पाठेघरकै रोगी थिए । उनीहरुलाई सबैले हेला गर्न थाले । समाजले नै छिछि दुरदुर गरे । घरपरिवारबाट माया पाउन सकिनन् ।
तिलाकै सुडिगाउँकी सुकमती रावत पनी पाठेघरको विमारीका कारण छटपटिमा छन् । उनका ४ सन्तान छन । पाठेघरको विमारी भएको १० वर्ष जति भयो । यो समस्या थाह पाएपनि लाजका कारण कसैलाई नभनि लुकाउछन् । यो लुकाउदा समस्या विकराल बनेको छ ।
रावत भन्छिन् ‘लाजमान्ने चलनले लुकाएर बसे । अब गाउँपालिका र सर्वोदय नेपालले सचेतना जोगाएको छ । उपचार गर्ने सोचेकी छु । यो समस्या जुम्लाका तिलागाउँपालिकाका महिलाले मात्रै नभई कर्णाली प्रदेशका महिलाले भोग्दै आएका छन ।’
त्यस्तै , पातारासी गाउँपालिका २ तल्फिगाउँकी लालसरी बिकलाई पनी पाठेघरको समस्या भयो । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक जाच गराइन । उनको पाठेघरमा घाउ भएको देखियो । उनको पाठेघरको शल्यक्रिया गरे फालेको बताइन ।
बिक भन्छिन् ‘महिनावारी हुदा धेरै भारी बोक्दा यस्तो आवस्था आएको हो । पाठेघर फ्याँकेपछि बोझ हलुको भो । रोगले ५ वर्ष थलिएकी थिए । निःशुल्क शल्यक्रियापछि अहिले सामान्य बनेकी छु ।’ कयौ महिला अहिले पनि उपचार नपाएर मृत्युको मुखमा पुगेका छन् ।
कलिलो उमेरका महिलामा पाठेघरको समस्या
जुम्ला जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको निःशुल्क पाठेघर जाँच शिविरमा चेकजाच गर्न आउने अधिकास महिलाहरुमा समस्या देखीने गरेको छ ।जुम्लामा महिलाको पाठेघरको निशुल्क उपचार चेकजाँज हुन्छ । तर पनि महिलाहरु लाजमान्ने कारणले रोग लुकाएर बस्ने र विस्तारै रोग बढ्दै गएपनि चेकजाच नै नगरी मृत्युको मुखमा पुग्ने गरेका छन् ।अभियन्ता कमल खत्री भन्छन, ‘इज्जत गुम्ने र लाज हुने भन्दै धेरैले महिलाले आफ्नो विमारी अरुलाई भन्दैनन् । विमारी लुकाएर राख्छन् । जसका कारण विमार बढ्दै गएर अन्तिममा पाठेघर फाल्नु पर्ने अवस्था आउछ ।’

पाठेघर खस्ने (आङ खस्ने) कारण सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, बालविवाह गर्ने , सुत्केरी भएको समयमा यौनसम्पर्क राख्ने कारणले देखा पर्ने कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर राजीव शाहले बताउछन् ।
ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् । उनीहरू रोगी हुन्छन् तर लुकाउँछन् । समाज पनि यति पछाडि छ कि महिलाले विमारी लुकाउनुलाई सभ्य सम्झन्छ । समाज घरपरिवारले सहयोग गरेको पाइँदैन । उल्टै विमारी लुकाउन प्रोत्साहन गर्छन् । बालविवाहले गर्दा कलिलो उमेरका महिलाहरुमा यस्तो समस्या झन बढीरहेको शाह बताउछन् ।
कुरीती बिरुद्ध स्थानीय सरकार
महिलाको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै कुरीती बिरुद्ध पछिल्ला समयमा स्थानीय सरकार पनी लागी परेको छ । स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका बिष्णु बुढाले बताइन । उनले भनिन, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै

धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागी गरिएको हो ।
समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छ्ईगोठ मुक्त अभियान थालिएको हो। छाउपडि प्रथा महिलाको बृद्धि विकासको बाधक हो,‘ उपाअध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु बुढा भन्छिन्,‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्युनिरकरणका लागि यो अभियान एक नमुना कार्य हो।
विमारी माथि यातना खेप्छन महिला
विमारीका कारण महिला शारिरीक पिडा खेप्छन् । अर्को तर्फ घरपरिवार र श्रीमानबाट यातना र दुव्र्यवहार सहन बाध्य छन् । श्रीमानले समेत घरेलु हिंसा गर्छन् ।
सामाज र घरपरिवारको व्यवहारका कारण महिला महिनावारी हुदा गाइगोठमा बस्छन् । गोठपनि सुरक्षित छैनन् । स्वास्थ्यमा पनि असर पर्छ ।

गाउँघरमा सुत्केरी महिलाको अवस्था कस्तो छ भनेर धेरै सुन्न पाइन्छ । उनीहरुले सुत्केरी हुदा भोगेका दुःख पिडाको सगरमाथा नै सुनिन्छन् । अहिले पनि गाउँ समाजमा सुत्केरी हुदा पाउने दुःख पिडा बीसको एक्काइस भएको छैनन् । सुत्केरी भएको एक हप्तामा नै घरको काम गर्नु जुम्लाका सुत्केरी महिलाको लागि आम कुरा भएको छ ।
सुत्केरी भएको ७ दिनमा काम गर्न जानेमा तल्फि गाउँपालिकाकी लालसरी विक हुन । उनी बच्चा जन्माएको ७ दिनदेखि नै काम गर्न थालिन । आराम गर्नु पर्ने पोसीलो खानेकुरा खानु पर्ने समयमा काम गर्न गइन । पोसिलो खाना पाइनन् । अन्त बच्चा जन्मेको ५ वर्ष पछि पाठेघर खस्यो । अन्त उनको पाठेघर नै फाल्नु पर्यो ।
महिलाको पाठेघर भएन भने संसार नै चल्दैन । पाठेघर महिलाको प्रमुख प्रजनन अंग हो । जहाँ हरेक मानिस ९ महिना बस्छ । तर पछि त्यहि पाठेघरबाट जन्मेको मानिस नै महिला माथि छोरा नभएको भन्दै घरेलु हिंसा गर्छ । सन्तान जन्माउदा महिलालाई कति पिडा हुन्छ भनेर समाज नै बुझ्दैन ।

पाठेघर खस्ने चरण ३ किसिमका रहन्छन् । पहिलो र दोस्रो चरणकोलाई ‘रिङ’ लगाएर उपचार गर्न सकिन्छ । तर खसिसकेपछि पीडाबाट मुक्ति पाउन शल्यक्रियाबाहेक उपाय नभएको डाक्टर राजीव शाह बताउछन् ।
शल्यक्रिया गरेर पाठेघर फालिसकेपछि बच्चा जन्माउन सक्दैनन् । महिलाले सन्तान जन्माउन नसके पछि श्रीमानले अर्को बिहे गर्ने गरेका धेरै उदारण छन । जसका कारण महिलाले घरेलु हिंसा व्यहोर्नु परेको छ ।
चेतनाको कमी
जुम्लाका हरेक गाउँघरमा चेतनाको अभाव छ । शिक्षाको अभाव छ । यहाँको सामाजिक ,धार्मिक र सांस्कृतिक कारणले पनि महिला हिंसा भइरहेको छ । कयौ रुढीवादी चलनका कारण महिलाले दुःख भोग्नु परेको छ ।
जब समाज नै चेतनशिल हुन्छ त्यहाँ आम रुपमा समाज अगाडि बढ्छ । जुन समाज चेतनामा पछाडि पर्छ त्यो समाज विकासका हिसाबले , सामाजिक उत्तरदायीत्वका हिसाबले पछाडि नै परेको हुन्छ ।

जुम्लामा छाउ (महिनावारी) हुदा पनि प्राकृतिक रुपमा महिला परिक्क हुन सुरु भयो भन्दा पनि धार्मिक आधारमा नछुने भएको भन्दै गोठमा सुताइन्छ ।जब कि महिनावारी हुनु भनेको महिलाको उमेर अनुसार शारिरिक बनावटमा परिन परिवर्तन आउनु । उ आम बन्ने तर्फ जादै छ भन्ने संकेत हो । उमेर पुगेपछि महिला सन्तान जन्माउन परिपक्क भएको संकेत हो । तर यहाँ महिनावारीलाई धार्मिक आस्थाका आधारमा हेरिन्छ ।जसका कारण महिनावारी हुदा घरमा बस्न पाउदैनन् । पोशिलो खाने कुरा खान पाउदैनन् ।
यहाँ महिलाहरु पढेर हातमा डिग्री भएपनि चेतनाका आधारमा हेर्ने हो भने अशिक्षित नै छन् । पढेलेखेका महिलाहरु पनि गोठ बस्न जान्छन् ।गाउँघरमा चलेका धार्मिक मान्यतामा अझ झन जड बनिदिन्छन् । जसका कारण गाउँ समाज अग्रगतिमा जानु भन्दा पनि यथास्थितिमा बस्छ ।

गणतन्त्र आएपछि पनि गाउँघरमा अस्पताल र स्कुलको अनुपातमा मठमन्दीर बन्नु पनि समाज कहाँ छ भन्ने देखाउछ ।
महिलामा चेतना अभावल पाठेघर खस्ने समस्या थपिन्छ । पाठेघरमा हुने विमारी , यसका कारणका बारेमा थाह नपाउदा अथवा विमारी लुकाउने प्रवृतिका कारण समस्या दिनदिनै बढेको छ ।

यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको डाक्टर शाह बताउछन् । यहाँ धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले रोगी हुने गरेको जनस्वास्थ्य कार्यालयल जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउछन् । ‘चेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान आवश्यक छ ।
सरकारले चेतनामूलक कार्यक्रमसँगै शिविर सञ्चालन गर्दै आएको छ ।

तर अप्ठेरो मानेर विमारी लुकाउने प्रवृति छ । विमारी लुकाउने प्रवृतिले विमारी शिविरमा कम आउँछन् । तर पनि अलिकति भएपनि पहिलेको तुलनामा शिविरमा आउने महिलाको संख्या बढेको छ । पहिले घरमा खोज्दै हिंड्नुपथ्र्यो । अहिले सूचना पाएपछि आउन थालेका छन् ।’

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान छ । त्यहाँ पाठेघर सखेका महिलाको निशुल्क उपचार हुन्छ । सरकारले उपचार निःशुल्क गर्दा पनि महिला अस्पताल आउदैनन् । पाठेघरको रोग लम्बिदै गएपछि क्यान्सर हुने खतरा बढी रहेको सापकोटा बताउछन् । उनी भन्छन् ‘ बालविवाहका कारण, सानैमा बच्चा जन्माउने चलन, सुत्केरी अवस्थामा कामको बोझ, पोसिलो खानेकुराको कमिका कारण महिलामा पाठेघरको समस्या उत्पन्न हुन्छ । जसको समयमा नै उपचार नगर्दा क्यान्सर हुने बढी खतरा बढ्ने गरेको छ ।’
४० देखि ५० वर्षको उमेर पुगेपछि महिलामा पाठेघरको समस्या बढी देखिने गरेको छ । कालान्तरमा क्यान्सर हुने खतरा बढी हुने गर्छ । यसमा दोष महिलालाई दिइन्छ । तर महिलाको स्वास्थ्यमा आएको समस्याका बारेमा घरपरिवाले पनि समयमा नै ध्यान दिनु पर्छ । जसका कारण महिलाको स्वास्थ्यमा सुधार हुन्छ ।

समाज घरपरिवारले गर्ने व्यवहारका कारण पनि महिलाको प्रजनन्मा धेरै असर पर्छ । छोरा जन्माउनै पर्ने सामाजिक मान्यताका कारण पनि महिलाले धेरै दुःख पाएका छन् । यसलाई समयमा चेतना बढाएर रोक्नु पर्छ । होइन भने यो समाजमा पिढीदरपिढी फैलिरहने अर्को क्यान्स हो ।
यौन रोग सरुवा रोग पनि हो । यो सुरक्षित हुन आवश्यक छ । यौन सम्पर्कबाट फैलिने एचआइभी एड्स सर्छ । यसकोे संक्रमणले गर्दा पाठेघरको क्यान्सर हुने खतरा बढी रहेको चिकित्सक बताउछन् । यौनसम्पर्क धेरैसंग गर्नु हुदैन ।
कसरी बच्न सकिन्छ
पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारकारे पहलमा गाउँ गाउँमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । महिलामा चेतनाको धिपधिपे दियो बल्न थालेको छ । आफ्नो शरिरमाथि आफैले निर्णय गर्न पाउनु पर्छ भन्ने सम्म पुगेका छन् । जुन सकारात्मक कुरा हो ।
महिलाले ३० वर्षको उमेर पुगेपछि वर्षको एकपटक स्वास्थ्य जाँच गर्न आवश्यक रहेको चिकित्सक बताउछन् । सानो उमेरमा यौनसम्पर्क नराख्ने, धुम्रपान,मध्यपान नगर्ने । बालविवाह नगर्ने । उमेर पुगेर विवाह गरेपनि धेरै बच्चा नजन्माउने । पछिल्लो समयमा अस्थायी साधनको रुपमा बजारमा पाइन सूई, चक्किले झन पाठेघरमा र महिलाको स्वास्थ्यमा ,हर्मनमा असर गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसकारण यी अस्थाई साधनहरुको प्रयोग गर्नु हुदैन ।
उज्यालोको आस
पछिल्लो समयमा स्थानीय तहले जुम्लामा छुई गोठ मुक्त अभियान चलाउन थालेका छन् । जसले गर्दा महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । कमसेकम जोडोमा चिसो भूइमा सुत्न नपरेमा महिलाको स्वस्थ्यमा कम असर पर्छ ।

त्यस्तै सरकारले पाठेघर खस्ने समस्याबाट पीडित महिलाका लागि निःशुल्क उपचार र शल्यक्रिया व्यवस्था गरेको छ । तर प्रचार प्रसार नहुँदा सेवा प्रभावित बन्न सकेको छैन । यहि कारणले पाठेघरका रोगी महिलाले उपभचार पाएका छैनन । आङ खसेका महिलाको उपचार गर्ने जिम्मा सरकारले जिल्ला जनस्वास्थ्यलाई दिएको छ ।
तर मानिसको चेतना अभावका कारण पनि महिलाले उपचार गराएका छैनन् । पछिल्लो समयमा प्रदेश सरकारले पनि महिलको पाठेघरको उपचार गर्न कार्यक्रम ल्याएको छ । तर पनि चेतना अभाव र विमारी लुकाउने प्रवृतिका कारण यस्ता कार्यक्रम जुम्लाका ग्रामिण भेगमा पुग्न सकेका छैनन् ।

सरकारको प्राथमिकता प्राप्त कार्यक्रममध्ये प्रजनन स्वास्थ्य पनि हो । यस्तो रोगको उपचारका लागि कार्य सञ्चालन निर्देशिका परिवार स्वास्थ्य महाशाखाबाट तयार गरिएको छ । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले तराई, पहाड र हिमालमा यस्ता समस्याका महिलाको निःशुल्क शल्यक्रियाबापत सम्बन्धित अस्पताललाई क्रमशः १२ हजार, १३ हजार र १५ हजार उपलब्ध गराउँदै आएको छ । बिरामी महिलाले अस्पतालमा रहँदासम्म खाना र फर्किंदा ५ सय रुपैयाँ यातायात सुविधासमेत पाउँछन्।

यी र यस्तो राम्रो कार्यक्रमहरु अब गाउँ गाउँमा पुग्न ढीला हुनु हुदैन । यसको लागि समाजका शिक्षित,समाजसेवी , पत्रकार ,राजनीतिक दलका नेता कार्यकर्ताहरुले पहल गर्न आवश्यक छ । समाज रुपान्तरण गर्ने जिम्म हामी सबैको हो । व्यक्ति स्वस्थ भए समाज समाज स्वस्थ भए देश स्वस्थ हुन्छ । मानिसको स्वास्थ्य ठिक छैन भने देशको स्वास्थ्य पनि ठिक हुदैन ।जनसंख्याको आधा भन्दा बढी हिस्सा आगटेका महिलाहरुको स्वास्थ्य ठिक भएन भने समाजको अवस्था कस्तो हुन्छ आफै कल्पना गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार