जुम्लाको मालापानीमा सडक पुग्दा…

विकासको मुख्य रुप हो सडक । सडक सञ्जाल जोडिन थालेपछि मालापानी लगायत तिलाका अन्य स्थानीयको मुहारमा समेत खुसी देखिएको छ ।
गाउँपालिकाद्धारा तिलाका विभिन्न बस्तीहरुमा सडक सञ्जाल जोडिने क्रममै मालापानीमा जोडिएको हो ।

कुनै बेला बजारबाट भारी बोकेर मालापानी पुर्‍याउने स्थानीयहरु सडक सञ्जाल जोडिँदा खुसी भएका हुन्  ।  ‘सडक सञ्जाल जोडिएसँगै उपभोग्य बस्तु ल्याउन र लैजान सहज हुने भएको छ’ बुढाले भने, ‘गाउँपालिकाको पहलमा सडक खन्ने काम भएको छ । ट्रयाक्टर आउने गरेपनि अन्य सवारी साधन भने आएका छैनन । विस्तारै अन्य सवारी साधन पनि आउँछन् होला । सडक खनेको देख्न पनि वर्षौ कुर्नु परेको हो ।’

सडक पुग्यो तर, गाडी गुडेनन् 

मालापानीमा सडक खनेपनि सवारी साधन गुड्न भने केही महिना कुर्नु पर्ने भएको छ । ‘मालापानीमा  सडक पुग्ला भन्ने हामीले कल्पना गरेका थिएनौं’ स्थानीय जैसरी बुढाले भनिन्, ‘यहाँबाट दिनभरी हिँडेर  राराको सेरी बजार  दैनिक उपभोग्य बस्तु लिन जाने गरेका थियौं ।’ उनले थपिन्, ‘गाउँमा सडक पुग्नु मात्र ठुलो होइन ।  सडकमा गाडी गुड्नु पनि हो । यसका लागि पुल बन्नु बनाउन जरुरी छ ।’

‘नागरिकले सहज रुपमा यात्रा गर्नु अहिलेको आवश्यकता  हो ।  यसलाई मध्यनजर गरेरै बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने गाउँपालिकाको लक्ष्य पुरा हुँदै गएको छ’ गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले भनिन्, ‘गाउँमा स्थानीय आवत–जावत गर्ने सवारी चल्न समय लाग्ला । पहिला सडक राम्रोसँग निर्माण गरौं । अहिले ट्रयाक्टरहरु आवत–जावत गरिरहेका छन्  ।’

‘स्थानीय सरकारले गाउँ–बस्तीमै मोटरबाटो पुर्‍याएको हो’ 

स्थानीय सरकार आएपछि ठुलो उपलब्धी भनेको सडक पुग्नु पनि भएको मालापानीका स्थानीयले बताएका छन्  । त्यहाँ उत्पादन भएको खाद्य बस्तुदेखि अन्य सामग्रीहरु ओसारपसार गर्न सहज हुने भएको स्थानीयको भनाइ छ ।  केही समयमै तिला नदीमा पुल बनेपछि ट्रयाक्टर मात्रै नभएर अन्य सवारी साधन पनि बस्तीमै पुग्ने गाउँपालिकाले जनाएको छ ।

‘मालापानी मात्रै होइन तिलाका विभिन्न बस्तीहरुमा सडक सञ्जाल जोडिने क्रममा छ । सडक सञ्जाल जोडिएपछि यहाँ उत्पादन भएकाका खाद्य बस्तुदेखि अन्य सामग्रीहरु ओसारपसार गर्नलाई सहज हुनेछ’ उपाध्यक्ष बुढाले भनिन्, ‘सडक सञ्जाल जोडिएपछि यहाँका नागरिकको दैनिकी परिवर्तन मात्रै नभइ उपलब्धी मुलक कार्यमा समेत जोड दिने गाउँपालिकाको लक्ष्य रहेको छ ।

गाउँमा सडक, खानेपानी, सिंचाइ स्वास्थ्य शिक्षा रोजगार लगायत अन्य स्थानीयका आधारभूत आवश्यकता पुरा गर्न गाउँपालिका लागिपरेको उपाध्यक्ष बुढाको भनाइ छ । अनि, तिला गाउँपालिका समृद्धितर्फको यात्रा सुरु हुने भएको उपाध्यक्ष बुढाले बताइन् ।

सम्बन्धित समाचार