जुम्ला काँग्रेस अधिवेशन ः जिल्ला सभापतिमा शाही शाही बीचको टकराप
नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिका लागि दीपबहादुर शाही र कर्णबहादुर शाहीबीच टकराप भएकोे छ । उनीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनी वर्तमान जिल्ला सभापति हुन् ।
तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । योसंगै उनले झण्डै दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका छन् । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार हुन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही कांग्रेस जुम्लाका सचिव हुन् । उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए ।
सहमतिको अन्तिम प्रयास असफल भएपछि दुवै पक्षले उम्मेदवारी घोषणा गरिसकेका थिए ।
अहिले दुवै पक्षले उम्मेदवारी घोषणा गरेसंगै प्रचारप्रसारमा जुटेका छन् । पौडेल प्यानलबाट सभापतिमा दीपबहादुर शाही, उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाईको उम्मेदवार हुन् । उपसभापति कार्मा बुढा जिल्ला समन्वय समितिका उपप्रमुख हुन् । यसअघिका कांग्रेस जिल्ला सचिव हुन् ।
पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर देउवा पक्ष पनि निकै खटिएको छ । यो पटकको निर्वाचनमा जसरी भए पनि निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा छ ।
प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि छ । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कबहादुर हमाल, सचिवमा घनश्याम थापा र दानबहादुर बुढा, सहसचिव नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भइसकेको छ ।सचिवका उम्मेदवार दानबहादुर बुढा स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिका अध्यक्षका प्रत्यासी हुन्। गुठीचौरमा कांग्रेसमा लहर ल्याउने नेतामा पर्छन् ।
देउवा पक्षले एक महिनाअघि नै पदाधिकारीको टुंगो लगाइसकेको थियो। हाम्रो जित्ने अवस्था, क्षेत्रीय सदस्य भक्त बुढाले भने,‘पाटी जोगाउनुपर्छ। पार्टीका मूल्यमान्यता गाउँस्तरसम्म स्थापित गर्नुपर्छ।
जसका लागि देउवा पक्षको पदाधिकारी समूह निकै सक्षम देखिएको छ। त्यसैले यो पटक जिल्ला नेतृत्वमा देउवा पक्षको जित सुनिश्चित छ ।’उनले कर्णबहादुर शाही नेतृत्वको टिम पढेलेखेको बौद्धिक, राम्रो छवि भएको भएकाले सबै कार्यकर्ताले पत्याउने विश्वास व्यक्त गरे। पालिकास्तरदेखि नै निर्वाचनमा होमिँदा कार्यकर्ता निकै निराश छन्, उनले भने,‘निराश बनेका कार्यकर्ताको आशाभरोसा भनेको यही टिम हो।’
नेपाली कांग्रेस जुम्लाले नोमिनेसन प्रक्रिया शुरू भइसकेको जनाएको छ। दुवै पक्षले आफू बलियो भएको प्रचारबाजी गरिरहेका छन्। पहिलेको स्टाटस हेर्दा पौडेल पक्ष नै बलियो हो, एक नेताले भने,‘अहिले के भइरहेको छ भन्न सकिँदैन।’
जिल्ला समितिको पदाधिकारी सहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो । कुल १ हजार १८ मतदातामा झण्डै ९ सय ५० जना सम्मले मतदान गर्ने विश्वास गरिएको छ। केही कार्यकर्ता व्यापारको सिलसिलामा जिल्लाबाहिर गइसकेको जनाइएको छ।








