हवाइ टिकटमा भएको अपारदर्शीता रोक्न चार निर्णय


जुम्ला ः लामो समयदेखि नै जुम्लाको हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्ट मार्फत हुँदा जुम्ली नागरिकले यातना खेप्दै आएका छन ।गत भदौ १३ गते जुम्ला विमानस्थलमा बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शीता रोक्न चार वटा निर्णय गरेको थियो ।
टिकट वितरण प्रर्णालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटको लागि पहल गर्ने, यहाँ चल्ने जहाजले नागरिक उड्ययन प्राधिकरणको उडान तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय खोलेर कार्यालयबाटै सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय गरिएको एक झण्डै दुई महिना पुग्न लग्दा समेत कुनै निर्णय पनी कार्यान्वयन नभएको भन्दै नागरिकले गुनासो गरेका थिए । विमानस्थल बाहिर खोलिएका कार्यालयमा ताला लागेको छ। टेलिफोनको भरमा जहाजको टिकट वितरण हुने गरेको कारण जुम्लाका सर्वसाधारणले सास्ती भोगेका हुन । जुम्लाका नागरिकले हवाइ टिकटमा पहुँचवालाको हालीमुहाली बढेको गुनासो गरेका थिए । टिकट फोनबाटै बुकिङ हुने भएकोले कार्यालय खोल्नुको कुनै अर्थ नरहेको विमानस्थल नजिकै खोलिएका एयरलाइन्सका बताएका छन ।

विमानस्थल कार्यालयका उपप्रबन्धक प्रकाश शर्मा पटक पटक निर्णय कार्यान्वयनको लागि दबाब दिदै आएको बताउछन । उनले भने सबै भन्दा पहिला एयरलाइन्स जिम्मेवारी हुनु पर्ने हो । सबै जिम्मेवारी एजेन्सीलाई दिएर जहाज कम्पनी पन्छिने गरेको छ । उनले भने, ‘एयरलायन्सले राखेका कर्मचारीसँग टिकट छैन। एजेन्ट जिम्मेवार छैनन्। उपभोक्ता गुनासो गरिरहन्छन तर लिखत निवदन दिँदैनन्।’
जुम्लामा २०४० सालदेखि विमानस्थलमा देखिएको निजी विमान कम्पनीको एकाधिकार तोड्न विभिन्न आन्दोलन हुँदै आएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बता्उ । उनले भने अहिलेसम्म त्यो आन्दोलनको न उपलब्धि भएको छ, नत कुनै औचत्य नै । विमानस्थलमा देखिने समस्या अहिले पनि ज्युँकात्युँ नै छन्। उनले भने दुर्गम क्षेत्रमा चल्ने जहाज सेवामुखी भन्दा बढी नाफामुखी मात्रै भएकाले समस्या निम्तिएको हो ।

यिनहरुले नियमित उडान गरेर कर्णालीबासीको सुखदुखमा साथ दिनु पर्ने हो ।सडक यात्रा गर्दा भरपर्दो छैन। हवाइ यातायात नियमित छैन, अध्यक्ष महतले थपे,‘कर्णाली पछाडि पर्नुको कारण नै यही हो।’
कर्णालीको प्रतिनिधित्व नीति निर्माण तहमा प्रभावकारी रुपमा हुन नसकेका कारण कर्णालीमा हवाइ यातायातमा देखिएको समस्या समाधान हुन नसकेको उनको आम जुम्ला बासीको ठहर छ। अहिले कर्णालीका विमानस्थलहरुमा यात्रुको चाप छ। जहाज नहुँदा हप्तौ विमानस्थलमा कुर्नु परिरहेको यात्रुहरु बताउँछन्।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा विमानस्थलमा हुने सेवा प्रवाह गुणस्तरीय हुन नसकेको बताउँछन्। उनले भने,‘यहाँको विमानस्थल अनलाइन टिकट प्रर्णालीमा जान सकेको छैन। टिकट वितरणमा निकै अनियमितता छ।
अन्यत्र यात्रु नपाउँदा कर्णाली जहाज कम्पनीका लागि व्यवसायिक थलो बन्छ। जब यहाँ चाप हुन्छ। यहाँ एयरलाइन्स कार्यालय र एजेन्सीलाई जे पनि गर्न पाउँछौ भन्ने दम्भ छ। उनीहरुको दम्भ देशको कानुन र राज्य भन्दा माथिल्लो स्तरको जस्तो देखिन्छ।
टिकट काउण्टर छैनन
जुम्लाबाट उडान भर्ने सबै एयरलाइन्सको टिकट काउण्टर छैनन्। सबै काउण्टर एजेटकै गोजी हो । सर्वसाधरणले टिकटको कुरा गर्दा टिकट प्याक नै हुने गर्छन्। यहाँ चल्ने विमान कम्पनीले नियमित जहाज चलाउने सम्झौता गर्छन्। तर एजेन्सीको जिम्मा लगाएर पन्छिरहेका छन्। कर्णालीका यात्रु एयरलाइन्सको नियमित तालिका अनुसार सहुलियतमा जहाज चढ्न पाउदैनन्। सधैँ चाटर्ड गर्छन्।
समयमै उड्न पाउदैनन यात्रु
जुम्ला विमानस्थलका कर्मचारीले विहानै यात्रु बोलाएर बेलुका तिर जहाजमा उडाउने गर्छन्। जसका कारण यात्रुले समय अनुसारको उड्न पाएका छैन । चालू आर्थिक बर्षको अहिले सम्म जुम्लामा एउटा पनि सेडुअल फ्लाइट भएको छैन।
केन्द्रीय उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव बिष्णु तिमिल्सेनाले भने, ‘भाडादरमा पनि एकरु पता छैन। जहाजैपिच्छे फरकफरक भाडादर छ।

एउटै जहाजभित्र यात्रारत यात्रुको भाडा पनि फरक देखिन्छ। यसको नियमन कसले गर्ने हो। यो अन्यौलको बिषय बनेको छ।’उनले भने स्थानीय प्रशासन कार्यालय जुम्लाले पनि पटकपटक अनुगमन गरेर विमानस्थलमा देखिएका समस्या समाधान गर्न पहल गर्नु पर्ने हो। तर समस्या बल्झिएपछि मात्र अनुगमनको पाटोलाई अघि बढाउँछ।त्यस्तै नेकपा माओवादी केन्द्रका नेता पुर्णप्रसाद धिताल बोली बिक्ने यात्रु मात्र जहाजमा सयर गर्न पाएको भन्दै बोली नबिक्नेले समेत जहाज चढ्न पाउनु पर्ने बताउँछन्। सबै पुराना समस्या हुन्। स्रोत साधन सरकारको प्रयोग भइरहेको छ। एकाधिकार निजी क्षेत्रको छ। निजी क्षेत्रको एकाधिकार तोड्न राज्य लाग्नुपर्छ।अहिले जुम्लाका यात्रु बोर्डिङ पासका भरमा उड्छन्। एयरलाइन्सका कर्मचारी सबै जहाजको टिकट एजेन्सीले बुक गर्ने भएकोले समस्या भएको बताउँछन्।

त्यस्तै राष्ट्यि मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका अधिकृत धनराज शाही सर्वसाधारणले टिकट नपाएको, पहुँचवालाले मात्र विमानस्थलमा हालीमुहाली गरिरहेको ,इटिकटको व्यवस्था नभएको, विमानस्थलका निर्णय धेरै भएको तर सुधार हुन नसकेको र अधिकांश नागरिकले कुनै पनि सूचना नपाएको जस्ता गुनासो आउने गरेको बताउछ ।उनले भने, ‘विमानस्थलमा देखिएका समस्या तत्काल हल गर्न र हवाइ यातायात सेवालाई सबैको पहुँच भित्र पुर्याउन हरेक निकाय जिम्मेवार हुनुपर्छ। विमानस्थलमा देखिएका विकृतिजन्य क्रियाकलापको अन्त्य हुनुपर्छ।’

यो निकै लामो समयदेखिको समस्या हो। जहाजको पहुँच पुगेका हिमाली जिल्लाका नागरिकले भोग्नु परेको समस्या हो। यो समस्याको समाधान जिल्ला स्तरमा हुने बैठक, छलफलले हुँदैन। मन्त्रिस्तरीय बैठक बसेर मात्र समाधान हुनसक्छन्।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जिल्ला स्तरमा देखिएको समस्या समाधानका लागि भएका निर्णय हुबहु कार्यान्वयन हुनु पर्ने बताइन्। ्। यात्रुहरुले विमानस्थलमा देखिएको सिण्डिकेट अन्त्य हुनुपर्ने, सबैले पालैपालो टिकट पाउनुपर्ने बताएका छन्।