सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते

वीरेन्द्रनगर :  सुर्खेतमा बेवारिसे बम विस्फोट दुई जना घाइते भएका छन । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लिला नेपाली र उनका १४ वर्षका भाइ नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

निरीक्षक शाहीका अनुसार शनिबार बिहान उक्त सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान करिब ११ः४५ तिर बेवारिसे अवस्थामा बम विस्फोट भएको हो ।

प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्रामा बस्दै आएका थिए । हाल घाइते दुईजनाको स्थानीय देउती अस्पताल प्रालिमा उपचार भइरहेको छ । भने दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

उक्त वनमा नेपाली सेनाले कहिले काहीँ अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो वम बचेको पनि हुनसक्ने निरीक्षक शाहीको आशंका छ । भने यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ रहेको छ ।