सुर्खेतका समाजसेवी प्रकाश सुवेदीको निधन

काठमाडौँ : सुर्खेतका समाजसेवी प्रकाश सुवेदीको निधन भएको छ । जण्डिस रोगबाट ग्रसित सुवेदीको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

समाज जागरण केन्द्र स्याक नेपालका संस्थापक टीकाराम आचार्यका अनुसार जण्डिस रोग, युरिक एसिड लगायतका रोगबाट ग्रसित सुवेदीलाई अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उपचारकै क्रममा उनको दुःखद निधन भएको आचार्यले बताए ।

‘जण्डिस बिग्रदा अवस्था जटिल भएपछि उपचारका लागि काठमाडौँ लगिएको थियो,’ सुर्खेतबाट टेलिफोनमा आचार्यले भने, ‘तर आज मात्रै निधन भएको खबर सुन्नुपर्यो । हामीले एक असल र महत्वपूर्ण व्यक्तित्व गुमाएका छौँ ।’

आचार्यका अनुसार सुवेदी स्याक नेपालका सस्थापक एवंम पुर्व महासचिव हुन् । ग्रामिण जागरण सहकारीका अध्यक्ष रहेका उनी सहारा क्याम्पसका अध्यक्ष पनि थिए ।

त्यसबाहेक उनले जिल्ला बाल सङ्गठन सुर्खेत, सुवेदी कल्याण प्रतिस्ठानको अध्यक्ष पदमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेकपा एमाले जिल्ला प्रतिनिधि परिषद सदस्य समेत रहेका उनको निधनप्रति सुर्खेतबासी स्तब्ध भएका छन् ।a