‘ब्राउन सुगर’सहित जुम्लाका दुईजना पक्राउ
जुम्ला : मोटरसाइकलमा लागुऔषध बोकीरहेको अवस्थामा जुम्लाका दुई जनालाई कालिकोटबाट पक्राउ गरिएको छ । नेपालगञ्जबाट जुम्लातर्फ जादै गरेको लु ७३ प ८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार गरिरहेका जुम्ला पातारासी गाउँपालिका – ६ बस्ने २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका- ६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठले पक्राउ परेका हुन् ।
विशेष सुराकीको आधारमा प्रहरी चौकी खल्ला गाडले खानतलासी गर्दा मोटरसाइकलको ब्याट्री राख्ने ठाउँ र सिटमुनी लुकाएर राखेको अवस्थामा ‘ब्राउन सुगर’ ७ ग्राम, (INTRAVET-10) लेखिएको १२ पत्तामा १ सय ७५ ट्याव्लेट, र (TRAMWAL) लेखिएको २८ पत्तामा २ सय ८० ट्याव्लेट पनि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइै जिल्ला प्रहरी कार्यालय कालिकोटमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्रबहादुर शाहले बताए ।









