जुम्लामा सहुलियत मूल्य पसल सञ्चालन

जुम्लामा असोजदेखि १ गते देखी सुपथ मूल्य पसल सञ्चालनमा भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुथप तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो ।शाखाले चाल र चामल सहुलियत मूल्यमा विक्री भई रहेको जनाएको छ । अरुवा मोटा चामल प्रतिकेजी ४७ रुपियाँमा ५ रुपौया छुट लिएर ४२ रुपियाँमा विक्री गरेको शाखा प्रमुख तिलक सुनारले बताए । उनले भने यस्तै अरुवा सोना मन्सूली चामल, प्रतिकेजी ५१ रुपियाँ ३० पैसा, मासको दाल प्रतिकेजी १७० रुपियाँ, मसुरोको दाल प्रतिकेजी १४० रुपियाँ र अरहरको दाल प्रतिकेजी १८३ रुपियाँमा प्रीतकेजी ५÷५ रुपियाँ सहुलियत छुट मूल्यमा विक्री भइरहेको उनले बताए ।
असोज १ गते देखि २४ कार्तिकसम्म सहुलियत छुट मूल्यमा विक्री गर्नका लागि एक हजार कुन्टल कोटा हो । पहिलो दिन अर्थात असोज १ गते नै १९ कुन्टल सहुलियत छुट मूल्यमा चामल विक्री भएको शाखा प्रमुख सुनारले बताए ।
सहुलियत छुट मुल्यमा चामल विक्री वितरण गर्नका लागि शाखा तालिका सार्वजनिक गरेको छ ।
आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर गाउँपालिका, बुधबार तातोपानी गाउँपालिका, विहिबार हिमा र कनकासुन्दरी गाउँपालिका र शुक्रबार तिला र सिंजा गाउँपालिकालाई तालिकामा दिन तोकेको छ । विहान १० बजेदेखि ३ बजेसम्म, प्रति व्यक्ति दुई बोरा (६० केजी) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा कोभिड १९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।
यस्तै सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देश भरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । उपभोक्ताले नून प्रतिकिला १८, चिनी प्रतिकिलो ७९ मा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि दशसम्म छुट पाउने कम्पनीले जनाएको छ । पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।
सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि रु तीन करोड छुट्याएको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि तीन करोड २५ लाख छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले खाद्य कम्पनीका लागि एक करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रकम छुट्याइएको जनाइएको छ ।