एमालेद्वारा महाधिवेशन कार्यतालिका संशोधन

काठमाडौ । नेकपा एमालेले पूर्वनिधारित विधान महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । शनिबार ललितपुरस्थीत तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन१५देखि १७ असोससम्म हुने छ।

नयाँ तालिका अनुसार विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । महाविधेशनमा पेश गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केहि दिन बैठक सारिएको उनले बताए । त्यस्तै बैठकले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै बिभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए । बिधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी तथा असोज ८ र ९गते केन्द्रीय समिति बस्ने उनले बताए ।

त्यस्तै बैठकले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपती जनाएको छ । पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर गरेको भट्टराईले बताए । त्यस्तै अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै बिमति रहेको उनले जानकारी दिए ।

बैठकले संसदीय मूल्यमान्यताका आधारमा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बताए । त्यस्तै स्थायी कमिटी बैठकले बिभिन्न बिषयमा शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यपक्षले धरपकड गर्ने काम गरेको भन्दै निन्दा गरेको छ । बैठकले बिरोध प्रदर्शनमा उत्रिएकालाई पनि आफ्ना बिषयबस्तुलाई मर्यादित ढंगले प्रस्तुत गर्न अपिल गरेको छ ।