ताक्लाकोटमा नेपालीको मासिक कमाई एक लाखसम्म

सिमकोट :  हुम्लाबासीका लागि मुख्य रोजगारीको क्षेत्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाखसम्म हुने गरेको छ । कोरोना कहरकैबीच दैनिक रुपमा ज्यालादारी काम पाएका कारण कमाई राम्रो हुने भएको बताइएको छ ।

हाल ताक्लाकोटमा रहदै आएका जंगबहादुर लामाले कोरोना संङ्क्रमणयता ताक्लाकोटमा हुम्लाबासीको कमाई मासिक एक लाखसम्म हुने गरेको जानकारी दिए । ताक्लाकोटमा कम कमाई गर्नेको मासिक चालीस हजारको र यस्ता नेपालीको संख्या न्यून रहेको छ ।

उनले एक लाख भन्दा बढी कमाई गर्ने पनि रहेको बताए । गत वर्ष कोरोना सुरु भएयता हुम्ला फिर्ता आउन नपाएका १३५ जना हुम्लाबासीको कमाई ताक्लाकोटमा राम्रो रहेको छ ।

अहिले आम्दानी राम्रो भइरहेकोले सबै नेपाली कामदार सन्तुष्ट रहदै आएको बताइएको छ  । यो अवधिमा ताक्लाकोटमा काम गरिरहेका नेपालीले राम्रो कमाई गरेर नेपालमा पठाएर घर जग्गामा समेत लगानी गरि रहेको बताउँदै व्यापारी टेकबहादुर लामाले ताक्लाकोटमा रहेका नेपालीलाई कोरोनाले रोजगारीमा असर पार्न नसकेको जनाए ।

कोरोनाको सुरुवातीमा काम नपाएर बेरोजगार बस्नु परेका नेपालीलाई अहिले भने त्यस्तो अबस्था रहेको छैन । उनीहरु मध्य पुरुषल घर निर्माण, खानेपानी, सिंचाई, ढल, सडक निर्माण, र सुपर मार्केटमा काम गरि रहनु भएको छ भने महिलाहरु होटेलमा काम गरि रहेका छन् । ताक्लाकोटमा नेपालीलाई काममा प्राथमिकता दिने गरेको बताइएको छ ।  त्यसैगरि केही नेपालीले फुरुको व्यापार पनि गर्दे आएका छन् । ताक्लाकोटमा रहदै आएका नेपालीहरु काम राम्रो पाएर कमाई हुने भएपछि नेपाल फिर्ता आउन मनस्थितीमा नरहेको जनाइएको  छ ।