सुत्केरीको मृत्यु सुत्केरीको मृत्यु
गोरखा : एक सुत्केरीको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिए ।
उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उनले बताए । बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो ।
तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताए । उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उनको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला । सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन ।
बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ । सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन । रासस








