हुम्लाका प्रथम सगरमाथा आरोहीद्धारा विद्यार्थीलाई पोसाक

सिमकोट : हुम्लाबाट विश्वको सर्वोच्च शिखर सगरमथामा पहिलो पटक आरोहण गर्ने आरोहीले विद्यार्थीहरुलाई पोसाक सहयोग गरेका छन् । विद्यालयमा आफु अध्ययन गर्दाको समस्यालाई सम्झेर सिङ्गो विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरेका हुन्  ।

सिमकोट गाउँपालिका–३ को तोर्पा गाउँका बासिन्दा पेम्बा दोर्जे लामाले रलिङ माविका २५५ जना विद्यार्थीलार्य पोसाक सहयोग गरेको बताए । आफ्नो वार्षिक कमाईबाट सामाजिक सेवा गर्ने उद्देश्यले अध्ययन गरेको रलिङ माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई पोसाक सहयोग गरेका हुन्  ।

योसँगै छिमेकी गाउँ लाङ्दु गाउँको विद्यालयमा अध्ययरत १४ जना विद्यार्थीलार्य पनि पोसाक सहयोग गरेका छन् ।  त्यसैगरि उनले सिमकोट – ४ को स्याम्नेको जनज्वोति प्राविका पाँच जना विद्यार्थीलाई पनि पोसाक सहयोग  गर्ने तयारी गरेका छन् ।

उनले आफुले विद्यार्थी जीवनमा पाएको दुःखलाई सम्झेर हाल काठमाडौंमा रहदै आएको भएपनि विद्यार्थीलाई सहयोग गर्ने कार्य गरेको बताए । उक्त विद्यालयले हुम्ला जिल्लाबाट सगरमाथा आरोही लामाले सबै विद्यार्थीलार्य पोसाक सहयोग गरेर नमूना कार्य गरेको जनाउँदै यसले विद्यार्थीलाई निक्कै राहत पुगेको उल्लेख गरेको छ ।

सन २०१० मा सगरमाथा आरोहण गर्न सफल लामाले यसअघि सिमकोट गाउँपालिकाकै मानसरोवर माविका ३७५ जना विद्यार्थीलाई पोसाक सहयोग गरेका थिए ।