प्रदेश २को प्रदेश प्रमुखमा हरिशंकर मिश्र

काठमाडौं । प्रदेश नं. २को प्देश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।

हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय रहेका मिश्र विपी कोइरालाका समकक्षीसमेत रहेका काँग्रेस नेता रामनारायण मिश्रका छोरा हुन् । रामनारायण मिश्र वीपीले ०१६ सालमा नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री थिए ।

राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि रामनारायण मिश्रलाई समेत वीपीसँगै सुन्दरीजल कारागारमा बन्दी बनाएर राखिएको थियो । बुबा जेलमा परेपछि हरिशंकर मिश्रले ०१९ सालबाट राजनीति आरम्भ गरेका हुन् ।

बुबा रामनारायण मिश्रलाई जेल हालिएपछि आफू प्रजातन्त्रका लागि भएको संघर्षमा होमिएको नवनियुक्त प्रदेश प्रमुख हरिशंकर बताउँछन् । उनले भने, ‘बुबा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउँकै लागि चुनौती हुने भएकाले आन्दोलनलाई अगाडि बढाउन म आफै बुबाको पथमा लागेँ ।’

हरिशंकर मिश्रले प्रजातन्त्र दिवसकै अवसरमा आन्दोलनको झण्डा बोकेका थिए । त्यतिबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । आन्दोलनमा लागेको भन्दै हरिशंकरलाई पनि पक्राउ गरेर महोत्तरीस्थित जलेश्वर कारागारमा बन्दी बनाइएको थियो ।

​त्यतिबेला उनी अढाई महिना जेलमा बसे । त्यसपछि नाबालकलाई कारावासमा राखेको भन्दै आलोचना भएपछि हरिशंकरलाई जेलमुक्त गरिएको थियो । जेलमुक्तपछि पनि उनी निरन्तर रुपमा प्रजातान्त्रिक आन्दोलनमा होमिए र संघर्षमा लागि परे ।

मुलुकमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४८ सालमा भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तर त्यसपछि ०५१ सालमा भएको निर्वाचनमा उनी पराजित भए । त्यसपछि पनि नेपाली काँग्रेसले उनलाई सोही क्षेत्रबाट चुनाव लड्नका लागि अवसर दियो तर उनी सफल भएनन् ।

७६ वर्षीय मिश्रले भने, ‘नेपाली काँग्रेस र गठबन्धनको सरकारले ममाथि विश्वास गरेर नै मलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । प्रदेश प्रमुख पदको गरिमा कायम गर्ने र प्रदेश सरकार तथा प्रदेशवासीसँग छलफल गरेर स्पष्ट योजनाका साथ काम गर्छु ।’

उनलाई प्रदेश प्रमुख नियुक्त गरेपछि पिपरा गाउँपालिकामा स्थानीयवासीले खुशी मनाएका छन् । काँग्रेसमा लामो समयदेखि सक्रिय रहेका हरिशंकर मिश्रका योगदानलाई कदर गर्दै प्रदेश प्रमुखमा नियुक्त गरिएको स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित समाचार