कर्णालीमा चार हजार स्वयंसेविका परिचालित

कर्णालीः  कर्णाली प्रदेश सरकारले  कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष) को व्यवस्था गरेको छ ।     त्यस्तै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कोभिड–१९ प्रतिकार्य व्यवस्थापन गरेको जनाइएको छ । उक्त कार्यक्रमबाट आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनीतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकासमा टेवा पुगेको छ ।

स्वास्थ्यका लागि जनशक्तिको करार सेवामा व्यवस्थापन गरेर महामारीको अवस्थामा समेत नियमित स्वास्थ्य सेवालाई पुनः सञ्चालन गरिएको  सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन पाइपलाइन विस्तार, टेलिमेडिसिन सेवा पुनः सञ्चालन, विशेषज्ञ, चिकित्सकलगायत स्वास्थ्यकर्मीको करार व्यवस्था गरिएको उनको भनाइ छ ।     प्रदेश सरकारले फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका लागि मूलप्रवाहीकरण नीतिको मस्यौदा तयारी शुरु गरेको छ । राससको सहयोगमा

सम्बन्धित समाचार