जुम्ला : हवाइसेवा अस्तव्यस्त, टिकट वितरणमा एजेन्टकै हालीमुहाली
जुम्ला : नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ।
तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्। एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन पाएका छैनन्।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्। एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फीमात्रै हुँदा पनि महङ्गो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ
जुम्लादेखि नेपालगञ्जको यात्रा जहाजमार्फत गरेका एक यात्रुले भने, ‘हवाइ सेवा अस्तव्यस्त छ, हामी समान्य नागरिकले टिकट पाउन तोकिएको भाडाभन्दा बढी दिनु पर्छ, नत्र सम्भव हुँदैन। ‘
तालिका उडान तथा चार्टर उडान उस्तै
तालिका (सेड्यूल) अनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएको यात्रुहरूको गुनासो छ।
नेपालगञ्जबाट खाली आउनुपर्ने वहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेको उनीहरूले बताउने गरेका छन्। यसले गर्दा यहाँका जनताले तालिका (सेड्यूल) अनुसार उडान भर्ने हवाइजहाजको फाइदा दिन पाएका छैनन्।
यात्रुले गरिरहेका गुनासोबारे समिट एयरलाइन्सका स्टेशन म्यानेजर सन्तोष शाही भन्छन्, ‘यसमा हाम्रो कुनै हात हुँदैन। हामी आफैँ टिकट पाउँदैनौँ। निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ। यसको जिम्मेवार कम्पनी र एजेन्ट हुन्। जुम्लामा सञ्चालित हवाइ जहाजका स्टेशन म्यानेजरको गुनासो एउटै छ-हामी नुनको सोझो गर्न बसेका हौँ। टिकट बिक्रीवितरणको लागि हामीलाई कुनै जानकारी हुँदैन। तर, नागरिक स्तरबाट टिकट बिक्रीवितरणमा अनियमितता भएको गुनासो आउँछ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रकाश शर्माले टिकट बिक्री वितरणमा भएको महङ्गीबारे यात्रुले लिखित रुपमै निवेदन दिएको खण्डमा कारबाही हुने बताए। उनले भने, ‘यात्रुको गुनासो छ भन्ने बाहिर हल्ला व्यापक छ। तर, लिखित रूपमा उजुरी नदिएको खण्डमा हामीले कारबाही गर्न सक्ने अवस्था रहँदैनन्।’
जुम्लाको हवाइजहाजको टिकटमा भएको महङ्गी र अनियमितताबारे नागरिक उड्डयन प्राधिकरणका केन्द्रीय विभागका प्रवक्ता राजकुमार क्षेत्रीसँग बुझ्न पटकपटक फोनसम्पर्क गर्दा फोन उठेको छैन।
जुम्लादेखि नेपालगञ्जसम्मका भाडा ५ हजार ३३५ रुपैयाँ तोकिएको छ। जुम्लाका यात्रुबाट सात हजारदेखि ८ हजारसम्म उठाइरहेको गुनासो छ। आइतबारमात्रै परीक्षा दिन जाने एक यात्रु भीमा रावलले नेपालगञ्जसम्मको भाडा ७ हजार रुपैयाँ तिरेको बताइन्। उनले भनिन्, ‘टिकट नपाउँदा परीक्षा छुट्ने भएपछि बढी पैसा तिर्न बाध्य भएकी हुँ। एजेन्टले टिकट नकाटेर पहिला उडान गर्ने गरेका छन्।’
फोन र पावरकै भरमा टिकट वितरण गर्ने एजेन्टकै मनोमानीका कारण सर्वसाधारणले सास्ती पाउनु पर्ने बाध्यता छ। यसअघि धेरै भाडा लिने गरेको भन्दै जुम्ला प्रशासनमा उजुरी पनि परेको थियो। जुम्लाबाट उडान भर्ने हवाइजहाजले यसरी खुलेआम मोटो रकम असुल गर्ने गरेको भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ।
आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय जुम्ला पनि मौन छ। महँगो भाडाका कारण मारमा परेको सर्वसाधारणले सास्ती भोगेको यो पहिलो पटक भने होइन ।यहा हवाइजहाजको सुबिधा पुगेदेखीकै हो । सम्बन्धित निकाय भने मौन भइरदा यहाँका नागरिकले कहिले सम्म मंहगीको मारखेप्नु पर्नेहो कुनै अत्तोपतो छैन । जुम्लामा टिकट पाउन जनप्रतिनिधिदेखि मन्त्रीसम्मको पावर लाग्ने गरेको छ । सडक सञ्जालल जोडीएपनि वर्षायामको बाढी पहिरोले कर्णाली राजमार्ग बारम्बार अबरुद्ध हुन्छ ।जुम्लाको लागी भरपर्दो यातायत हवाई जहाज नै हो ।
सर्वसाधारण टिकट सहजै पाउदैनन हप्ता दिनसम्मा एर्पोटमै बसेको हुन्छन । विमानस्थलको काउण्टर बन्द गरेर सेटिङमा ठुलावडालाई मात्र टिकट बेचिएको छ यो आपत्तिजनक हो ।हवाई टिकटकै विषयलाई लिएर कहीकाँही कर्मचारी र यात्रु वीच भनाभन भएको कुरा पनि हल्लामा आउछ । तर बिडम्बना कुनै नियकायको ध्यान जादैन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले नेपाल नागारक उड्डयन प्राधिकरणको नियम अनुसार जुम्लाका कुनै पनि हवाइजहाजले पालन नगरेको बताए। उनले भने एका तिर नागरिकको बाध्यता पनि छ मंहगो भाडा तिरेर जानु पर्ने । तर तोकीएको भन्दा बढी भाडा तिरेको टिकट सहित उजुरी गर्न आउदैनन । उनले भने , टिकटमा भएको अनियमितताको बारेमा बारम्बार गुनासो आउने गरेका छ । तर प्रमाण बिना प्रशासनले केही गर्न सक्ने अबस्था छैन । यसको लागी नागरिकपनि सचेत बन्न जरुरी छ ।








