संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिल्नुको विकल्प छैनः मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका र सडकमा रहेका कम्युनिष्ट पार्टीहरु एकजुट भएर जानुपर्ने बताएका छन्। शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन ।

उनले भने ‘नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक छैन । संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउनु पर्यो । हामी क्रान्तिकारी धारका पार्टीहरूको एउटै पार्टी बनाउछौ ।’

अहिले क्रान्तिकारी धार कमजोर रहेको र संसदवादी धार बलियो रहेको बताए । संसदवादी धारको एउटै पार्टी र क्रान्तिकारी धारबीच एकता हुनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘सरकारमा र संसदमा भएका कम्युनिष्टहरू एक ठाउँमा बस्नुपर्यो र सडकमा भएका कम्युनिष्टहरू पनि एकजुट हुनुपर्यो । सरकारमा रहेका कम्युनिष्टहरुले सडकमा रहेका कम्युनिष्टहरूलाई दमन गरेर जानुभएन ।’

उनले माधव नेपाल, प्रचण्डलाई प्रधानमन्त्रीको लोभ छोडेर पार्टी र जनताको लागि काम गर्न आग्रह गरे । अहिले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्य प्रणालीमा परिवर्तन नभएको उनको तर्क थियो । हिजो परिवर्तनका लागि लडाई लडेर राजनीतिक परिवर्तन गरेपनि जनताको जीवनस्तरमा परिवर्तनका लागि कुनै काम नभएको बताए ।

कम्युनिष्ट पार्टीमा एउटा दक्षिणपन्थी धारा, एउटा मध्यमार्गी धारा र अर्को क्रान्तिकारी धारा रहेको बताए । कम्युनिष्ट पार्टी २ वटा मूल कारणले विभाजन हुने गरेको बताए । उनले पहिलो कारणमा सैद्धान्तिक विचारधारा रहेको र कुन अन्तर्राष्ट्रिय नेतालाई मान्ने भन्नेमा विवाद रहेको बताए । अर्को विवादका रुपमा क्रान्तिको बाटोमा कसरी जाने भन्ने रहेको उनको भनाई छ । संसदीय बाटोबाट जाने कि क्रान्तिकारी बाटोबाट जाने भन्नेमा पनि कम्युनिष्ट पार्टीमा समस्या रहेको र यीनै कारणले विभाजन हुने गरेका बताए ।

तर पद्धति भने फरक रहेको बताउँदै ओलीमा स्वेच्छाचारी प्रवृत्ति रहेको तर सैद्धान्तिक रुपमा केही फरक नरहेको बताए । उनले प्रचण्ड उदार स्वभावको रहेको बताउदै ओलीमा दुनियाँमा म भन्दा ठूलो कोही नरहेको भन्ने दम्भ इगो रहेको उल्लेख गरे । यिनै कारणले पार्टी फुट्न खोजेको देखिएको वैद्यको भनाई छ ।

सम्बन्धित समाचार