जहाँ जवा नदीमा नपुगी गाउँलेको चुल्हो बल्दैन्

जुम्लाः ‘हामी नदी किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । नदीमै ठेकेदार बालुवा लिन आउँछन् । नदीमै रुपैयाँ दिन्छन् । फर्कन्छन्’ यो भनाइ हो चन्दननाथ नगरपालिका – १ की ५८ वर्षकी बास्मती कुलालको ।  उनी  हरेक बिहानीको करिब ५ बजे जवा नदीको किनारामा पुग्छिन्  ।

उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने अनि बच्ने उनको दैनिकी हो । बास्मती मात्रै होइन्  । जवा नदिको बालुवा बेचेर गुजारा  चलाउने  धेरै महिला छन ।  न्युन आयस्रोत भएका परिवारको खर्च जोहो गर्ने जवा नदिनै भएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका– १ कै धनमाया कुलाल पनि बास्मतीसँग विहान नदीमा पुग्ने गरेकी छन्  ।  दिनभरी बालुका निकालेर बालुका खरिद गर्ने व्यापारीहरु कहाँ पुग्ने र बालुवा बेचेर घर फर्किने गरेकी छन्  ।

जुम्लाको जवा नदिमा बालुवा निकाल्नेको भीड लाग्ने गरेको छ ।  जवा नदीसँगै हिमा र तिला नदीमा पनि बालुवा निकाल्ने गरिरहेका धनमायाले बताइन्  । उनले भनिन, ‘हामी नदी किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । नदीमै ठेकेदार बालुवा लिन आउँछन् । नदि किनारमै रुपैयाँ दिन्छन् । फर्कन्छन्’ ।

उनीहरुको खाना पनि नदीमै हुन्छ ।  धनमायाले भनिन्, ‘एक दिनमा १५ बोरा सम्म बालुवा निकाल्छौं । एक टिप्पर बालुवा निकालेको खण्डमा तीन हजारदेखि ४ हजार रुपैयाँ सम्म दिने हुने गरेको छ’ ।

एक टिप्पर बालुवा संकलन गर्दा पाँच सय रुपैयाँ नदी किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ ।   महिला मात्रै छैनन् विद्यालय जाने बालबालिका समेत बालुवा संकलनका लागि नदी किनारामा पुग्ने गर्छन् ।

स्थानीय उनिता कुलाल विद्यालय बन्द भएकोले बालुवा निकाल्नमा प्रयोग गरिरहेको सुनाउँछिन्  । बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको उनले बताइन्  ।

‘बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीले बताइन् । ‘साउन महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । उनिताले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ’ उनले भनिन्  ।

‘नदिमा फालेको सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ । तर बालुवा संकलन नगरी आफ्नो दैनिकी नचल्ने उनले बताइन्  ।
नदी किनारामा झण्डै दुई सय बढी  महिलाले बालुवा निकालेर जीविका चलाउँदै आएका छन् । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरुले गाउँ नजिकै रोजगारी पाएका हुन् ।

बालुवा ननिकाल्ने हो भने उनिहरुको चुलोमा आगो बल्दैन । ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिप्परमार्फत सदरमुकाम र आसपासका जिल्लामा पुर्‍याउने  गरेको स्थानीय बताउँछन् ।

‘जवा नदि,तिला र हिमा नदिनमा बालुवा संकलन कार्य तीब्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौं’ धनमायाले भनिन् । ‘साउन महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ’ उनले थपिन्  ।

सम्बन्धित समाचार