हुम्लामा बैंक बन्द हुँदा सेवाग्राही मर्कामा
सिमकोटः हुम्लामा असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएको कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन ।
साढे एक लाखको चेक साँट्न नपाएका अंजु लामाले बैंक बन्द हुँदा मर्कामा परेको बताइन् । राष्ट्रिय बाणिज्य बैंकले असार ३१ महिनाको अन्तिम दिन हिसाब मिलानको कारण कोरोवार नगर्नु, साउन १ गते देउडा पर्वको अवसरका कर्णाली प्रदेश सरकारद्धारा सार्वजनिक विदा दिनु र साउन दुई गते शनिबार परेको कारण बैंकका सेवाग्राही मर्कामा परेका हुन ।
अर्का सेवाग्राही नाम्खा गाउँपालिकाका उर्गेन लामाले दुई हप्ता अगाडी जिल्लामा आएको र बल्ल कार्यालयबाट पाएको भुक्तानी बैंक बन्द रहेको कारण पैसा निकाल्न नपाएको बताए । अब हुम्लामा सेवाग्राहीले साउन तीन गते मात्र भुक्तानी लिन पाउने छन् ।
यसअघि बैंकमा पैसाको अभाव हुँदा सेवाग्राही मर्कामा पर्दै आएका थिए । लामाले बैंकमा पैसा पनि आएको तर बिदाको कारण दुई सय भन्दा बढी सेवाग्राही मर्कामा परेको बताए । बिदाको कारण बन्द रहेका बैंक तीन गते मात्र खुल्ने जनाइएको छ ।







