पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जानकारी दिएको छ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि हिजोको जस्तै ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि अक्सिजनको सामान्य सपोर्टमा छन् ।

यस्तै, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजना गएको शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको थियो ।