सरकारले गरेको काम नदेखी केही मान्छे विरोधमा लागे : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले देश भन्दा व्यक्तिगत स्वार्थका लागि लड्नेहरूको पहिचान गर्न नसकेसम्म विकास निर्माणको कामले दिशा लिन नसक्ने बताएका छन्।

उद्योग वाणिज्य दिवस कार्यक्रममा बोल्दै उनले भने, ‘देश र व्यक्तिको स्वार्थलाई जनताले नछुट्याएसम्म यस्तो परिस्थिति आइरहन्छ। देश बनाउने संकल्प र अठोट लिन सक्नुपर्छ। जनताले सही र गलत छुट्याउन सक्नुपर्छ।’

राजनीतिक परिपक्व नभएसम्म देश विकासले हुन नसक्ने दाबी गरे। सरकार सबैको साझा भएकाले समस्या समाधान गरेर अगाडि बढ्ने बताए।

‘सरकारले एउटै गन्तव्य हेरिरहेको छ। समृद्ध नेपाल, सुखी नेपाली नै सरकारको गन्तव्य हो’ उनले भने, ‘गएको वर्षमा पनि सरकारविरुद्ध विभिन्न परिदृश्य देखिरहे। अहिले पनि देखिरहेका छन्। तर, सरकारले आफ्नो काम गर्न छाडेको छैन।’

सरकार परिवर्तनको खेल भइरहेको भए पनि त्यसको आवश्यकता नरहेको दाबी गरे। सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहेको सुनाउँदै उनले भने, ‘सरकारले गरेको काम नदेखी त्यसको विरोधमा लागे। लखनउको घोडाले पनि बाटो बनेको देख्छ। जो त्यही बाटोमा हिँड्छन्, त्यसैले त्यो बाटो नदेखेझैँ गरिरहेको छ।’ कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्नका लागि समेत आग्रह गरे।

उनले भने, ‘सरकारले जारी गरेको नियम पालना गरौँ। सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने फेरि समस्या आउनसक्छ। हामी आफैँले त्यसको सचेतना अपनाऔँ। सरकार फेरि लकडाउनमा पुग्दैन भन्ने छैन।’

 

सम्बन्धित समाचार