राहत लिएर गोठीगाउँ पुग्यो कानुनमन्त्रीको टोली

जुम्ला :  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज बिहान अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन्। मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा आज बिहान करिब ८ः०० बजे त्यहाँ पुगेका हुन्।  सदरमुकाम खलंगा जुम्लाबाट प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा राहत सामग्री लिएर गोठीगाउँ पुगेका हुन्। मंगलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितहरुका लागि नेपाली हेलिकोप्टरबाट आवश्यक राहत सामग्री लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ पुगेका हुन्। ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको उनले बताए।

अधिकतम जाडोको समयमा आगलागीबाट विस्थापित समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाईमा पर्ने गोठीगाउँ बासीहरुका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाईएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

सम्बन्धित समाचार