मुगुको एकमात्र आवासीय विद्यालयमा छात्रावास अभाव, एउटै कोठामा १५ जनासम्म विद्यार्थी
मुगु:मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेको नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा छात्रावासको अभाव हुँदा विद्यार्थीको पठनपाठन र स्वास्थ्यमा समस्या देखिएको छ। विद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि छात्रावासका लागि पर्याप्त भवन नहुँदा विद्यार्थीहरू एउटै कोठामा १२ देखि १५ जनासम्म कोचिएर बस्न बाध्य भएका छन्।
मुगुम कार्मारोङ गाउँपालिकामा रहेको उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बढेसँगै छात्र तथा छात्राका लागि छात्रावासको अभाव चुलिँदै गएको हो। साँघुरो कोठामा धेरै विद्यार्थी बस्नुपर्दा राति हल्ला हुने, झैझगडा हुने र शौचालय प्रयोग गर्नसमेत कठिनाइ हुने गरेको विद्यार्थीहरूले बताएका छन्।
कक्षा १० मा अध्ययनरत विद्यार्थी हिक्मत बलमका अनुसार एउटै कोठामा धेरै विद्यार्थी बस्नुपर्दा दैनिक जीवनयापनमा समस्या हुने गरेको छ। पर्याप्त ठाउँ नहुँदा पढाइमा ध्यान केन्द्रित गर्नसमेत कठिन हुने गरेको उनको भनाइ छ।
त्यस्तै, कक्षा ९ मा अध्ययनरत प्रेरणा बुढाले विद्यालयको पठनपाठन राम्रो भए पनि आवासीय व्यवस्थापनमा कठिनाइ रहेको बताइन्। स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले छात्रावास भवन निर्माणमा सहयोग गरे विद्यार्थीलाई सहज हुने उनको भनाइ छ।
विद्यालयमा लामा समुदायका विद्यार्थीसमेत अध्ययन गर्ने भएकाले भाषा, संस्कृति र चाडपर्वसँग सम्बन्धित विषयमा पनि केही व्यावहारिक चुनौती आउने गरेको अर्का विद्यार्थी चन्द्र बुमीले बताए।
२०७६ सालमा स्थापना, विद्यार्थी सङ्ख्या ३५५
हिमाली जिल्ला मुगुको अति विकट मानिने मुगुम कार्मारोङ गाउँपालिकाका नागरिकलाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने र शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले राज्यका तीनै तहका सरकारको सहयोगमा वि.सं. २०७६ सालमा उक्त आवासीय विद्यालय स्थापना गरिएको हो।
सुरुमा कक्षा ४ र ५ मा १५० जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको विद्यालयमा हाल विद्यार्थी सङ्ख्या बढेर ३५५ पुगेको छ। विद्यार्थी सङ्ख्या बढ्दै गए पनि सोहीअनुसार छात्रावासका पूर्वाधार विस्तार हुन नसक्दा व्यवस्थापनमा समस्या देखिएको हो।
विद्यालयमा पठनपाठनका लागि केही कक्षाकोठा निर्माण गरिए पनि छात्रावासको समस्या भने समाधान हुन सकेको छैन। दुई वर्षअघि ‘छाया नेपाल’ नामक संस्थाले छात्राका लागि एकतले चारकोठे भवन र शौचालय निर्माण गरिदिएको थियो। तर, विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा उक्त भवनसमेत पर्याप्त हुन नसकेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक कुशल शाहीका अनुसार हाल उपलब्ध छात्रावासमा एउटै कोठामा १२ देखि १५ जनासम्म विद्यार्थी राखेर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।
“विद्यालय सञ्चालनमा आएको ६–७ वर्ष भइसकेको छ। पछिल्ला वर्षमा क्रमशः पूर्वाधार निर्माणको काम भइरहेको भए पनि ३५५ जना विद्यार्थीको पठनपाठन र बसोबास व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ। अहिले छात्रावासको समस्या प्रमुख रूपमा देखिएको छ,” प्रधानाध्यापक शाहीले भने।
उनका अनुसार छात्रावासको समस्या समाधानका लागि विद्यालय प्रशासनले स्थानीय सरकारलगायत सम्बन्धित निकायसँग पहल गरिरहेको छ।
छात्रावासको समस्या समाधान गर्ने स्थानीय सरकारको प्रतिबद्धता
मुगुम कार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवासचन्द्र रावलले छात्रावासको समस्याप्रति स्थानीय सरकार गम्भीर रहेको बताएका छन्। उनले केही समयभित्रै समस्या समाधान गर्ने दिशामा पहल गरिने जानकारी दिएका छन्।
विकट भौगोलिक अवस्था र शिक्षाको सीमित पहुँचका कारण पछाडि परेको क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवासीय विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर, विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा आवश्यक पूर्वाधार विस्तार हुन नसक्नुले विद्यालयको आवासीय व्यवस्थापनमा चुनौती थपिएको छ।
छात्रावासको अभावमा विद्यार्थीले भोगिरहेका समस्या समाधान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था तथा सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक देखिएको छ। पर्याप्त छात्रावास भवन, शौचालय र व्यवस्थित बसोबासको प्रबन्ध गर्न सके विद्यार्थीको स्वास्थ्य, सिकाइ वातावरण र शैक्षिक उपलब्धिमा समेत सुधार आउने अपेक्षा गरिएको छ।







