महिनावारी विभेद विरुद्ध पातारासीको एक वडाले थाल्यो अभियान: महिनावरी हुदा घरमै बस्ने प्रतिबद्धता
जुम्ला : महिनावारीलाई लिएर समाजमा विद्यमान विभेदकारी संस्कार र महिनावरी हुदा गोठमा बस्ने कु प्रथा अन्त्य गर्ने उद्देश्यले पातारासी गाउँपालिकामा एक वडा लाई घोषणा कार्यक्रम गरिएको छ। ‘सामाजिक संस्कारसहितको समाज परिवर्तनमा हाम्रो एक्यबद्धता, छुई गोठमुक्त समाज बनाउने नागरिकको प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो।
पातारासी गाउँपालिका–१ वडा कार्यालयको आयोजनामा तथा सर्वोदय विकासका लागि अभियान नेपाल, हाम्रो साहस र यूएन UN Women लगायतको सहकार्यमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, महिला, स्थानीय बासिन्दा, विद्यार्थी तथा सरोकारवालाले महिनावारी विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंङ बोहोराले महिनावारीसँग जोडिएका कुप्रथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्ने सर्वोदय नेपाललगायत सहयोगी संस्थालाई धन्यवाद दिए। उनले पातारासी–१ को गडीगाउँलाई छुई गोठमुक्त बनाउने अभियानले समाजमा सकारात्मक सन्देश दिने बताए। महिनावारी भएका बेला खानपान, सरसफाइ र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले महिनावारीसँग जोडिएको विभेदकारी कुप्रथाले समाजमा ठूलो असर पारेको बताए। महिनावारी महिलाको प्राकृतिक शारीरिक प्रक्रिया भएको उल्लेख गर्दै उनले यसलाई अनावश्यक रूपमा गलत प्रचार र अन्धविश्वाससँग जोड्न नहुने बताए।उनले महिनावरी लाई बिभेद गर्ने र गराउनेलाई समेत कानुनी सजाय हुने ब्यवस्था रहेको बताए।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जुनमाया रोकायाले महिनावारी भएका महिलालाई घरमै सुरक्षित रूपमा बस्ने वातावरण बनाउनुपर्ने बताइन्। उनले महिनावारीका बेला पोषिलो खानेकुरा खान पाउने अधिकारबाट महिलालाई वञ्चित गर्न नहुने भन्दै महिनावारी विभेदका कारण धेरै महिलाको स्वास्थ्यमा असर परेको उल्लेख गरिन्।
त्यस्तै बिकास लागी अभिया नेपाल (सर्वोदय नेपाल)का अध्यक्ष नारायणी चौलागाईंले महिनावारीका बेला दही, दूध खान नहुने, घरमा बस्न नहुने तथा अलग्गै गोठमा बस्नुपर्ने जस्ता गलत संस्कारले महिलाको स्वास्थ्यसँगै सिंगो समाजलाई असर पारेको बताइन्। गडीगाउँका महिला तथा किशोरीहरू महिनावारीकै कारण भोग्दै आएका विभेदकारी अभ्यास त्याग्न तयार भएको भन्दै उनले यसलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताइन्।
तातोपानी गाउँपालिकाकी उपाध्यक्ष तथा सर्वोदय दय नेपालका सचिव रेवंती रावलले आफूले पनि महिनावारीका बेला विभेद भोगेको अनुभव सुनाइन्। महिनावारी कुनै पाप वा श्राप नभई किशोरी तथा महिलाको शारीरिक परिपक्वताको प्राकृतिक संकेत भएको बताउँदै उनले यस्ता गलत प्रथा अन्त्य गर्न महिलाहरू नै सक्रिय हुनुपर्नेमा जोड दिइन्।
त्यस्तै पातारासी गाउँपालिका–१ का वडा अध्यक्ष लालबहादुर ऐडीले वडामा करिब ३ सय ६० घरधुरी र १ हजार ६ सयभन्दा बढी जनसंख्या रहेको जानकारी दिए। पछिल्लो समय स्थानीय बासिन्दाले महिनावारी भएका महिलालाई घरमै बसाउने अभ्यास सुरु गरेको बताउँदै उनले अबदेखि यसको नियमित निगरानी गरिने प्रतिबद्धता जनाए।
त्यस्तै पातारासी गाउँपालिका–४ का वडा अध्यक्ष कालीबहादुर ऐडीले एक्काइसौँ शताब्दीमा पनि महिलाले महिनावारी भएकै कारण गोठमा बस्नुपर्ने बाध्यता रहनु दुःखद भएको बताए। वडा तथा समुदायको संयुक्त प्रयासबाट यस्तो कुप्रथा अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा कलाकार पञ्चायती बुढा र लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले सांस्कृतिक तथा लोकदोहोरी प्रस्तुति दिएका थिए। स्थानीय महिला तथा विद्यालयका विद्यार्थीहरूले समेत विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा ‘महिनावारी विभेद प्रथा अन्त्य गरौँ, छुई गोठ मुक्त समाज निर्माण गरौँ’ भन्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कुरीति र विभेदविरुद्ध सामूहिक रूपमा अघि बढ्ने घोषणा गरिएको छ।









