जुम्ला प्रशासन नेतृत्वको पाँच सदस्यीय सरकारी टोली बडिमालिका पूजाका लागि प्रस्थान
जुम्ला : बडिमालिका भगवती मन्दिरमा पूजाआजा गर्न जुम्लाको पाँच सदस्यीय सरकारी टोली सोमबार बाजुरातर्फ प्रस्थान गरेको छ। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित प्रसिद्ध बडिमालिका मन्दिरमा परम्पराअनुसार पूजा गर्न टोली प्रस्थान गरेको हो।
जिल्ला प्रशासन कार्यालय जुम्लाका खरिदार तिलक प्रसाद उपाध्यायको नेतृत्वमा टोली बडिमालिका गएको सहायक प्रमुख जिल्ला अधिकारी मिमबहादुर रावलले जानकारी दिए। उनका अनुसार टोलीमा जिल्ला प्रशासन कार्यालयका तीन जना, चन्दननाथ नगरपालिकाका एक जना र पुजारी विष्णुप्रसाद उपाध्याय गरी पाँच जना रहेका छन्।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार तत्कालीन जुम्ला र डोटी राज्यले संयुक्त रूपमा बडिमालिका भगवतीको पूजा गर्ने परम्पराअनुसार हरेक वर्ष साउन शुक्ल पूर्णिमा अर्थात् नागपञ्चमीका दिन जुम्लाबाट सरकारी टोली बडिमालिका जाने गरेको छ।
यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै पाँच सदस्यीय टोली बडिमालिका पठाइएको हो। टोलीलाई नेपाली सेनाको टुकडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण गर्दै पाँच पटक सलामी, ब्यान्डबाजा तथा बिगुलसहित भव्य बिदाइ गरेको थियो। सयौँ स्थानीय, भक्तजन तथा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिले फूलमाला र अबिर लगाएर टोलीलाई बिदाइ गरेका थिए।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र र मुरुली गरी पाँच प्रकारका पूजाका सामग्री ‘पेटारो’ नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा चढाउन पठाइएको छ।
परम्पराअनुसार जुम्लाको टोली बडिमालिका पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन रहेको छ। बडिमालिकामा जुम्ला, बाजुरा र डोटीका टोलीबीच संयुक्त रूपमा पूजा गर्ने परम्परा पनि रहिआएको छ।
बडिमालिकाबाट टोली कृष्णाष्टमीको अघिल्लो दिन जुम्ला फर्कने र त्यसको भोलिपल्ट ‘लाख्य काट्ने’ परम्परा रहेको छ। टोलीलाई बिदाइ गर्न पुगेका स्थानीयले आफ्ना मनोकामना पूरा हुने विश्वासका साथ अक्षता तथा नासो पठाउने गर्छन्। बडिमालिकामा जुम्लाबाट लगिएको अक्षता र फूलपाती चढाउने परम्परा छ।टोलीको बिदाइका क्रममा स्थानीयले यात्रा सफल होस् तथा जुम्लाका सम्पूर्ण कामकारबाहीमा सफलता मिलोस् भन्ने कामना समेत गरेका थिए।









