ह्वील लकपछि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको निधन, ट्राफिक जरिवाना पुनरावलोकन गर्न दलित मुक्ति मोर्चाको माग
जुम्ला: नेपाल दलित मुक्ति मोर्चा जिल्ला कार्य समिति जुम्लाले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारसँग ट्राफिक जरिवाना प्रणाली पुनरावलोकन गर्न माग गरेको छ।
मोर्चाका जिल्ला सचिव रामबहादुर नेपालीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मुगु जिल्लाको सोरु गाउँपालिका १ निवासी २५ वर्षीय गणेश नेपाली राहदानी लिन जाँदा महानगर प्रहरी र ट्राफिक प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि तोकिएको ट्राफिक जरिवाना तिर्न नसकी आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको विज्ञप्तिमा उल्लेख छ।
मोर्चाले मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा सरकारले गरिब, विपन्न तथा दलित समुदायका समस्याप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै वर्तमान ट्राफिक जरिवाना नेपालको आर्थिक तथा सामाजिक अवस्थाअनुकूल नभएको दाबी गरिएको छ। साथै महँगी, कालोबजारी, भ्रष्टाचार तथा बेरोजगारीजस्ता समस्याले सर्वसाधारण थप मारमा परेको पनि मोर्चाको भनाइ छ।
मोर्चाले ट्राफिक जरिवानाको व्यवस्था पुनरावलोकन गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।उनिहरुले जिल्ला प्रशासन जुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन।









