सार्वजनिक सुनुवाइमार्फत चन्दननाथ–५ ले सार्वजनिक गर्यो वार्षिक प्रगति, नागरिकले राखे विभिन्न सुझाव
जुम्ला। चन्दननाथ नगरपालिका–५ वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना, बजेट खर्च र सेवा प्रवाहबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्थानीय नागरिकहरूले ज्येष्ठ नागरिकका लागि प्रभावकारी कार्यक्रम सञ्चालन, बालबालिकाको स्वास्थ्य बीमा, बाल क्लब गठन, घर निर्माण गर्दा नक्सापास अनिवार्य गर्ने व्यवस्था, जात्रा व्यवस्थापन तथा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
ज्येष्ठ नागरिकका तर्फबाट धनमाया कठायतले ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्। वडा सदस्य लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्दै सार्वजनिक सुनुवाइ नागरिकलाई आफ्नो वडाको विकास, बजेट तथा सेवा प्रवाहबारे जानकारी दिने र जनप्रतिनिधिलाई थप उत्तरदायी बनाउने माध्यम भएको बताइन्। उनले वडाबाट सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्थानीयवासीलाई रचनात्मक सुझाव दिन आग्रह गरिन्।
त्यस्तै वडा अध्यक्ष बृखबहादुर कार्कीले वडाले सम्पन्न गरेका योजना, खर्च विवरण तथा आगामी कार्यक्रमबारे जानकारी दिँदै नागरिकले अधिकारसँगै आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्ने बताए। उनले चन्दननाथ नगरपालिकाको केन्द्रमा रहेको वडा नं. ५ ले आवश्यकताअनुसार बजेट प्राप्त गर्न नसकेको गुनासो गर्दै आफ्नो अधिकारका लागि नागरिकहरू एकजुट भएर आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे। जनताको साथ र सहयोगबिना वडा अध्यक्ष एक्लैले सबै काम सम्पन्न गर्न नसक्ने उनले बताए।
त्यस्तै वडा सचिव प्रेमानन्द न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका योजना तथा बजेट कार्यान्वयनको विस्तृत विवरण प्रस्तुत गरे। उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम, कम्प्युटर शिक्षण सिकाइ, ज्येष्ठ नागरिक कार्यक्रम, एकल महिला क्षमता विकास, अग्नि नियन्त्रण तालिम, सरसफाइ तालिम, लागूऔषध न्यूनीकरणसम्बन्धी कार्यक्रम, बाल क्लबलाई खेलकुद सहयोग, मन्दिर निर्माण, भिडियो डकुमेन्ट्री निर्माणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।
वडाले सार्वजनिक गरेको विवरणअनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजित ९ लाख ५० हजार रुपैयाँमध्ये ९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ। कम्प्युटर शिक्षण–सिकाइ कार्यक्रममा ४५ जनाले डिप्लोमा तालिम प्राप्त गरेका छन् भने ज्येष्ठ नागरिक कार्यक्रमबाट ९६ जना लाभान्वित भएका छन्। एकल महिला कार्यक्रमअन्तर्गत २६ जनाले तालिम लिएका छन्।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले विकास निर्माणका कामलाई अझ पारदर्शी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सुझाव दिएका थिए। वडा कार्यालयले प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्ने प्रतिबद्धता जनाएको छ।









