विदेशबाट फर्केर माछापालन र कृषिमा भविष्य देखेका गणेश


जुम्ला :वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले कृषि र माछापालन व्यवसायबाट आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। पातारासी गाउँपालिका ६, घोडासिनका ३५ वर्षीय गणेश बुढाले विदेशमा कमाएको सीप र पूँजीलाई स्वदेशमै लगानी गर्दै सफल उद्यमीको परिचय बनाएका हुन्।

रोजगारीको खोजीमा उनी साढे चार वर्ष कुवेत र त्यसपछि साढे दुई वर्ष साउदी अरबमा बसे। लामो समय विदेशी भूमिमा पसिना बगाएपछि स्वदेश फर्केर आफ्नै गाउँमा केही गर्ने दृढ संकल्पका साथ कृषि तथा माछापालन व्यवसायमा लागेका हुन्।
विदेशबाट कमाएको रकमले जग्गा खरिद गरेका उनले अहिले ओखरका बिरुवाको नर्सरी सञ्चालन गर्नुका साथै व्यावसायिक स्याउ खेती पनि गरिरहेका छन्। कृषि विकास कार्यालयको सहयोगमा उनले स्याउ र ओखरका बिरुवा उत्पादनलाई विस्तार गरेका छन्।

यससँगै उनले दुई वर्षअघि अनुसन्धानका रूपमा माछापालन आफैंले सुरु गरेका थिए। सुरुमा आफ्नै लगानीमा व्यवसाय अघि बढाएका गणेशलाई गत वर्षदेखि पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाले माछाका भुरा, दाना र ढुवानीमा सहयोग गरेपछि व्यवसाय थप विस्तार भएको हो।

यस वर्ष एक क्विन्टल २० किलो हेमोग्रोसट्रस माछा बिक्री गरेको छु। गणेश भन्छन्, “प्रतिकिलो एक हजार आठ सय रुपैयाँका दरले बिक्री हुँदा दुई लाख १६ हजार रुपैयाँ आम्दानी भएको थियो।
उनका अनुसार माछापालन व्यवसाय सम्भावना बोकेको भए पनि भुरा, दाना र ढुवानी खर्च महँगो भएकाले चुनौतीपूर्ण छ। अब आफ्नै फार्ममा भुरा उत्पादन गर्ने तयारीमा छु। दाना र भुरा आफैं उत्पादन गर्न सके व्यवसाय अझै आत्मनिर्भर बन्ने विश्वास छ उनले भने।
त्यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय,जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढाथापाले गणेशको मेहनत प्रशंसनीय रहेको बताए। सुरुमा हामीले उहाँलाई माछापालन गर्न प्रोत्साहन गरेका थियौँ। गत वर्ष भुरा, दाना र ढुवानीमा सहयोग ग¥यौँ। उहाँको लगन र मेहनत देखेर यस वर्ष पनि तीन वटा ट्यांकी बनाउने रकम सहयोग गराएका छौँ उनले भने।

उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालयले गत वर्ष र यस वर्ष गरी करिब साढे ६ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। भविष्यमा हेमोग्रोसट्रस माछाको भुरा उत्पादन गरी जुम्लामै स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य रहेको उनले बताए।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गणेशले गरेको परिश्रमको उच्च प्रशंसा गरे। उनले सबै युवा ‘बेरोजगार भयौँ’ भनेर आफ्नो देशमा केही गर्न सकिँदैन भन्नेहरूका लागि गणेश गतिलो उदाहरण भएको बताए।त्यस्तै, जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले मनदेखि इमानदार बनेर काम गरेको खण्डमा कृषिमा आत्मनिर्भर हुन सकिने बताए। उनले युवाले गरेको कृषि उत्पादन, माछा, मासु लगायत सबै उत्पादनहरूको बजारीकरणको जिम्मा लिइएको खण्डमा जुम्लाका धेरै किसान उत्पादनमा लाग्ने बताए।उनले अहिले बजारीकरणको समस्या रहेको बताए। उत्पादन गरेको वस्तुको मूल्य किसानले भन्दा पनि बिचौलियाले बढी फाइदा लिने गरेकाले किसान मर्कामा परेको उनको भनाइ छ।
त्यस्तै, कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको बताए। उनले पहिलेको तुलनामा कृषकहरू पनि रूपान्तरण हुँदै परम्परागत शैलीमा मात्रै नभई आधुनिक खेतीतर्फ जागरूक हुँदै गएको बताए।

विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्दै कृषि, बगैंचा र माछापालनलाई आयआर्जनको आधार बनाएका गणेश बुढाको सफलताले वैदेशिक रोजगारीबाट फर्किएका अन्य युवालाई पनि आफ्नै गाउँमा उद्यमी बन्नका लागी प्रेरित गर्ने छ। उचित योजना, मेहनत र सरकारी सहयोग भए स्वदेशमै रोजगारी र समृद्धिको आधार निर्माण गर्न सकिन्छ भन्ने सन्देश उनले गरेको मेहनतले दिएको छ।

                                                    भिडियो हेर्नु होस