कृषि तथा पशुपालन कार्यक्रमको संयुक्त अनुगमन
जुम्लाः कर्णाली प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकाससँग सम्बन्धित विभिन्न कार्यालयहरूले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरिएका कार्यक्रमहरूको संयुक्त अनुगमन सम्पन्न गरेका छन्।
कृषि विकास कार्यालय, बीजयनगर जुम्लाको आयोजनामा, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको समन्वयमा असार २० र २१ गते जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भएका कृषि तथा पशुपालन कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो।
अनुगमन टोलीले चन्दननाथ, तातोपानी, तिला र पातारासी गाउँपालिकामा सञ्चालन भएका स्याउ बगैँचा, कृषि सिंचाइ योजना, हाईडेन्सिटी स्याउ खेती, तरकारी उत्पादन, नर्सरी स्थापना,माछा पालन, कुखुरा फार्म तथा कृषि–पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरूको स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनपछि सम्पन्न समीक्षा तथा छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्य, समन्वय अधिकारी रोमबहादुर महत, सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारी, पत्रकार र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा कार्यान्वयन भएका कार्यक्रमहरूको प्रभावकारिता, उपलब्धि, देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको थियो। सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रका कार्यक्रमहरूलाई अझ प्रभावकारी, उत्पादनमुखी र किसानमैत्री बनाउँदै लैजान आवश्यक रहेकोमा जोड दिएका थिए।








