जुम्लामा घरदैलोमै राहदानी वितरण सेवा सुरु

जुम्ला: जिल्ला प्रशासन कार्यालय,जुम्लाले सेवाग्राहीको सहजता र समय बचतलाई मध्यनजर गर्दै घरदैलोमै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ साल वैशाख २३ गतेदेखि प्राप्त भएका राहदानीहरू जिल्ला हुलाक कार्यालय, जुम्लामार्फत सम्बन्धित सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार नयाँ व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म आउनुपर्ने झन्झट हट्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

राहदानी बुझ्ने क्रममा सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात जस्तै नागरिकता, राष्ट्रिय परिचय पत्र वा मतदाता नामावली साथमा राख्नुपर्नेछ। यदि अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने अवस्था आएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजात समेत आवश्यक पर्नेछ।

कार्यालयले राहदानी वितरणका लागि खटिएका हुलाक कर्मचारीलाई आवश्यक सहयोग गर्न सबै सेवाग्राहीलाई अनुरोध गरेको छ। साथै, वितरण प्रक्रियालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।
थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, जुम्ला तथा जिल्ला हुलाक कार्यालय, जुम्लामा सम्पर्क गर्न सकिने जनाइएको छ।