प्रतिनिधिसभा निर्वाचन २०८२ : आचारसंहिता पालना सम्बन्धी जुम्लामा कार्यक्रम सम्पन्न
जुम्ला : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, सरकारी कर्मचारी तथा सञ्चारकर्मीले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लामा सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवात गर्दै सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सत्यतथ्यमा आधारित र भयरहित बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबै पक्षले इमानदारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो।
सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले निर्वाचन कार्यतालिकाअनुसार मुख्य निर्वाचन कार्यालयले तोकिएका सबै कामहरू निरन्तर रूपमा गर्दै आएको जानकारी गराउँदै आचारसंहिता कार्यान्वयनमा सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा निर्वाचन आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सबैलाई समान रूपमा लागू हुने स्पष्ट पारियो। निर्वाचन अवधिमा सरकारी स्रोत–साधनको दुरुपयोग गर्न नपाइने, निर्वाचन कार्यालय वा सरकारी कार्यालयमा अनावश्यक भीडभाड, बहस वा विवाद गर्न नहुने, तथा बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग गर्न नपाइने प्रावधानबारे जानकारी गराइएको थियो।
त्यसैगरी निर्वाचनका नाममा उत्तेजक अभिव्यक्ति दिने, भ्रामक सूचना प्रवाह गर्ने तथा आचारसंहिता विपरीत प्रचार–प्रसार गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइयो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगको आचारसंहिता कडाइका साथ पालना गरी लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप निर्वाचन सफल बनाउन अनुरोध गरेको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जुम्लामा निर्वाचन आचारसंहिता २०८२ विषयमा दल, उम्मेदवार, जनप्रतिनिधि तथा पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । माघ छ गते मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय भएका बेला निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र बनाउने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले उक्त अन्तरक्रिया आयोजना गरेको हो। मनोनयन दर्तादेखि प्रचार–प्रसार, मतदान प्रक्रिया र मतगणनासम्म आचारसंहिता कडाइका साथ लागू हुने छ, जसको पालना सबै पक्षले अनिवार्य रूपमा गर्नुपर्नेछ।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तले हालसम्म मुख्य निर्वाचन कार्यालयले गरेका तयारी र कामको जानकारी गराउँदै सबै सरोकारवालाले आचारसंहिता पालना गरेमा जुम्लामा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले निर्वाचन अवधिभर शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै राजनीतिक दल, उम्मेदवार र आम मतदाताबाट सहयोग अपेक्षा गरिएको बताउनुभयो।
अन्तरक्रियामा सहभागी विभिन्न राजनीतिक दल र सरोकारवाला निकायका प्रतिनिधिहरूले सुझावसमेत दिएका थिए। नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले सहकार्य र सहमतिमै आधारित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजकुमार शाही साहसीले सामाजिक सञ्जाल, युट्युब र भ्लगमार्फत हुने प्रचार–प्रसारको प्रभावकारी निगरानी आवश्यक रहेको बताउनुभयो। आवश्यकता परे खर्च पारदर्शिताका लागि बैंक खातासमेत जाँचिनुपर्ने सुझाव उहाँले दिनुभयो।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिर्षबहादुर रावतले आचारसंहिता कडाइका साथ पालना गराउँदै निर्वाचन आयोगले प्रभावकारी निगरानी गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी सबै दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
हाल जुम्लामा चुनावी प्रचार–प्रसार तीव्र बन्दै गएको छ। जुम्लाबाट नेपाली कांग्रेसका तर्फबाट पूर्व सभापति दीपबहादुर शाही, नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कम्युनिष्ट पार्टीबाट संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, राप्रपाका प्रवक्ता तथा विघटित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाही, र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेतृ तथा विघटित सांसद विनिता कठायत उम्मेदवार रहेका छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट बिर्षबहादुर रावत, विप्लव नेतृत्वको नेकपाबाट बिर्खबहादुर शाही, जनमत पार्टीबाट रनिल विक्रम शाही तथा भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गरी जुम्लामा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार स्वच्छ निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको जनाएको छ।








