विकास निर्माण तथा गतिविधि अनुगमन गर्न सिडिओ र समन्वय प्रमुख गाउँगाउँमा

मुगु  : शिक्षा, स्वास्थ्य, सञ्चार, सडकलगायत विकासका सूचकमा देशकै पछाडि परेको मुगु जिल्ला अझै पनि दुर्गम र विकट क्षेत्रका रूपमा चिनिँदै आएको छ । विशेषगरी सोरुगाउँपालिका भौगोलिक कठिनाइका कारण लामो समयदेखि विकासमा पछि पर्दै आएको क्षेत्र हो ।

यसै सन्दर्भमा, सोरुगाउँपालिकामा सञ्चालन भएका विकास निर्माण तथा अन्य गतिविधिको अनुगमन गर्न मुगुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खडानन्द खत्री र जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीको टोलीले गाउँ–गाउँ पुगेर स्थलगत अनुगमन गरेको छ ।

सिडिओ खत्रीले संघीय संरचनाअनुसार राज्यका तीनै तहका सरकार तथा संघसंस्थाहरू दुर्गम बस्तीहरूसम्म पुगिरहेको अवस्थामा जिल्ला सदरमुकाममै सीमित भएर बस्न नहुने बताए । “लगानी सही सदुपयोग भएको छ कि छैन भन्ने कुरा कागजमा मात्र होइन, प्रत्यक्ष रूपमा स्थलमै पुगेर अनुगमन गर्नुपर्छ,” उनले भने ।

सोही क्रममा सोरुगाउँपालिका वडा नम्बर ८, १० र ११ मा सन् २०२२ देखि २५ डिसेम्बरसम्म सञ्चालन भएको बहुभाषिक शिक्षा परियोजनाको अनुगमन गरिएको हो । साझेदारी संस्था यूएमएन मुगुको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्था (जि.एस.एस.) मुगुबाट सञ्चालित उक्त परियोजनाले शिक्षा, स्वास्थ्य, आयआर्जन, पूर्वाधार निर्माण र अपाङ्गता क्षेत्रमा उल्लेखनीय काम गरेको पाइएको सिडिओ खत्रीले जानकारी दिए ।

अनुगमनका क्रममा थोरै बजेटमा पनि प्रभावकारी काम भएको पाइएको बताउँदै उनले विशेषगरी शिक्षा क्षेत्रमा विद्यार्थी बसाइ व्यवस्थापन, कक्षा कोठा मर्मत तथा निर्माण, शिक्षक, विद्यार्थी र अभिभावक लक्षित तालिम, गोष्ठी, सेमिनार, अभिभावक शिक्षा तथा अपाङ्गता क्षेत्रमा गरिएको काम प्रशंसनीय रहेको बताए । “यस्तै खालको काम अन्य स्थानीय तह र संघसंस्थाले पनि गरेमा सोरुगाउँपालिकाका बस्तीहरू छिटो विकासको दिशामा अघि बढ्नेछन्,” सिडिओ खत्रीले भने ।

ग्रामीण सामुदायिक संस्था (जि.एस.एस.) मुगुका अध्यक्ष बलराम साहनी अनुसार सुरुमा खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने उद्देश्य रहे पनि परियोजना सञ्चालनपूर्व गरिएको स्थलगत अध्ययनका क्रममा शिक्षा, स्वास्थ्य र आयआर्जनमा बढी आवश्यकता देखिएकाले परियोजनाको लक्ष्य परिवर्तन गरिएको हो ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीले जिल्लामा सञ्चालन हुने अधिकांश आयोजनामा सूचना बोर्ड नराखिने समस्या रहेको बताए ।“सूचना बोर्ड नहुँदा अनुगमन गर्न कठिनाइ हुन्छ । बारम्बार आग्रह गर्दा पनि धेरै निकायले यसलाई बेवास्ता गरेका छन्,” उनले गुनासो गरे ।

सोरुगाउँपालिका वडा नम्बर ८, १० र ११ मा सञ्चालन भएको बहुभाषिक शिक्षा परियोजनाको अवधि समाप्त हुन लागेको अवस्थामा सरोकारवाला निकायहरूको सहभागितामा जिल्ला स्तरीय अन्तिम अनुगमन गरिएको हो । तीन वर्षे लगानीको प्रभावकारिता, सिकाइ र सुधारका पक्षबारे सुझाव संकलन गरी आगामी दिनमा संस्थाको कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको यूएमएन मुगुका प्रतिनिधि नेत्र बहादुर शाहीले जानकारी दिए ।

सम्बन्धित समाचार