महिला जागरण डटकम पाँचौँ वर्षमा प्रवेश

चार वर्षको अवधिमा ५ हजार २ सय ३९ समाचार प्रकाशन

जुम्ला : जुम्लाबाट सञ्चालन हुँदै आएको डिजिटल अनलाइन सञ्चारमाध्यम महिला जागरण डटकम पाँचौँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा जुम्लामा विभिन्न कार्यक्रम गरी पाँचौँ वार्षिकोत्सव मनाइएको हो।

स्थापना दिवसका अवसरमा आधुनिक महिला जागरण प्रा.ली .ले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा सञ्चारमाध्यमले स्थापना यता उठान तथा प्रकाशन गरेका समाचार र उपलब्धिबारे अध्यक्ष दिलमाया शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शाहीले चार वर्षको अवधिमा महिला जागरण डटकममार्फत ५ हजार २ सय ३९ समाचार प्रकाशन गरिएको जानकारी दिनुभयो। उहाँले बालविवाह, बहुविवाह, महिला हिंसा, यौन दुर्व्यवहार, जघन्य अपराध, सामाजिक अन्याय तथा आवाजविहीन समुदायका सवालहरूलाई निरन्तर प्राथमिकतामा राख्दै पत्रकारिता गर्दै आएको उल्लेख गर्नुभयो।

वार्षिकोत्सव कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीन्द आचार्यले महिला जागरण डटकमले उठान गरेका विषयहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले पत्रकार दिलमाया शाहीले उठान गरेका मुद्दा अन्तिमसम्म पु¥याएर कार्यान्वयन हुने गरी पहल गर्ने गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जीवन र समाज बदल्ने उद्देश्यसहित सुरु गरिएको पत्रकारिता महिला जागरण र दिलमाया शाहीमार्फत निरन्तर अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो सामाजिक उत्तरदायित्वयुक्त पत्रकारिता निरन्तरताका लागि शुभकामना दिनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाकी प्रमुख कल्पना आचार्य नेपालले महिला जागरण डटकमलाई शुभकामना दिँदै समाजका महत्वपूर्ण र संवेदनशील मुद्दा उठाउने कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। पीडितलाई न्याय दिलाउने प्रकृतिका समाचार प्रकाशनका लागि उहाँले विशेष शुभकामना व्यक्त गर्नुभयो।

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले निमुखा र पहुँचविहीन नागरिकको पक्षमा पत्रकार दिलमाया शाहीको कलम निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले राजनीतिक तथा सामाजिक पहुँचका आधारमा दबिएका नागरिकको आवाज बुलन्द गर्न महिला जागरण डटकमले प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले महिला जागरण डटकम निमुखा नागरिकको आवाजका रूपमा स्थापित भइसकेको भन्दै बधाई तथा निरन्तरताको शुभकामना दिनुभयो। कार्यक्रममा शुभकामना व्यक्त गर्ने अधिकांश वक्ताले महिला जागरण डटकमले जुम्लामा खोजमूलक र उत्तरदायी पत्रकारिताको अभ्यासलाई बलियो बनाएको भन्दै सफलताको कामना गरेका थिए।

उल्लेखनीय छ, आधुनिक महिला जागरण डटकम २०७७ सालमा कम्पनी रजिस्ट्रार कार्यालय, करदाता सेवा कार्यालय हुँदै सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा समेत सूचीकृत भइसकेको छ।

सम्बन्धित समाचार