जुम्लामा ७७औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस : सुशासनका लागि सबै जिम्मेवार बन्नुपर्छ

जुम्ला : युवा संग एक भएर भ्रष्टाचार विरुद्ध लडौँ, भोलिको इमानदार समाज निर्माण गरौँ’’ नाराका साथ डिसेम्बर ९ मा ७७औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस जुम्लामा विविध कार्यक्रमसँगै मनाइएको छ।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहजीकरणमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै नागरिक समान रूपमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
“भ्रष्टाचार गर्न पनि हुँदैन, गर्न दिन पनि हुँदैन ।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानकै अन्त्यतिर भ्रष्टाचार विरुद्ध दिवस मनाइएको जानकारी दिए।
उनी भन्छन्, “भ्रष्टाचार दिवस मनाएर मात्र होइन, सबैले मिलेर यसलाई न्यूनिकरण गर्नुपर्छ। भ्रष्टाचार गर्न पनि हुँदैन, गर्न दिन पनि हुँदैन।”उनका अनुसार स्थानीय सरकार आएको पछाडि राजनीतिक पूर्वाग्रहले केही गतिविधि प्रभावित बनेका छन्। सेवा प्रवाह र सुशासन सुधारका लागि युवाको भूमिकालाई पनि उनले महत्वपूर्ण बताए।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले ग्रामीण भेगका नागरिक आफ्नो अधिकारबारे बोल्न सक्ने अवस्था अझै छायामै रहेको बताइन्।
उनले स्वतन्त्रता, समान पहुँच, कार्यदक्षता, पारदर्शिताजस्ता विषयमा सबै निकायले ध्यान दिनुपर्ने बताइन्।उनका अनुसार पद र शक्तिको दुरुपयोग गर्ने उपाहार लिने प्रवृत्ति पनि भ्रष्टाचारकै रूप हो।
कर्मचारी सुदृढ नभए भ्रष्टाचार न्यूनिकरण गर्न नसकिने सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलनले बताए ।उनले भ्रष्टाचार सम्बन्धी कानुनी व्यवस्था, सजायका प्रावधान तथा अन्तर्राष्ट्रिय कानुनबारे प्रशिक्षण दिए।उनले भने, “कार्यालय प्रमुखदेखि सबै कर्मचारी सक्षम र उत्तरदायी भएपछि मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ।”
मिडियाको निगरानी र आवाज उठाउने भूमिका पनि अत्यन्त महत्वपूर्ण हुने उनले बताए।
अख्तियारको कार्यशैलीमाथि प्रश्न
चन्दननाथ नगरपालिका कार्यवाहक मेयर रबी थापाले अख्तियारलाई ‘कमाइ खाने भाँडो’ जस्तै देखिएको टिप्पणी गरे।
उनले भने, “जुम्लाका थुप्रै योजना अख्तियारमा उजुरी जान्छन , तर कार्यान्वयनमा समस्या देखिन्छ।एमाले नेता आदिप्रसाद न्यौपानेले प्रशासनिक सेवा कमजोर बनेको र केही पत्रकार ठेकेदारजस्तै भएको आरोप लगाए।यसैबीच पत्रकार महासङ्घका पूर्वअध्यक्ष नेत्रबहादुर शाहीले सबै पत्रकारलाई एउटै रूपमा दोषारोप नगर्न आग्रह गर्दै मिडियाले आफ्नो दायित्व मजबुत रूपमा निर्वाह गर्नुपर्ने बताए।

समाजमै भ्रष्टाचारलाई ‘सफलता’ ठान्ने गलत प्रवृत्ति प्रमुख  रहेकाे जुम्लाका ,प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।उनले  भ्रष्टाचार निवारणका लागि अख्तियारलगायतका निकाय सक्रिय रहे पनि सुशासन चुनौतीपूर्ण बन्दै गएको बताए।
उनका अनुसार ,कुनै कर्मचारीले केही वर्षमै अवैध कमाइ गरेर घर बनायो भने समाजले पनि त्यसलाई सफलता ठान्ने गलत प्रवृत्ति छ।उनले यही मानसिकता बदल्न अत्यावश्यक छ।पछिल्लो समयमा भ्रष्टाचारको शैली बदलिएको जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले बताए ।उनले पहिलेकाे ब्यवस्थामा हेर्दा अहिले भ्रष्टाचारको प्रवृत्ति र शैली दुवै बदलिएको बताए।उनका अनुसार भाषण सबैले गर्छन्, तर व्यवहारमा उतार्ने बानी कम छ। सबै कर्मचारी र जनप्रतिनिधि जिम्मेवार बने भ्रष्टाचार न्यूनिकरण सम्भव छ।
कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले भ्रष्टाचार विरुद्ध दिवसले सुशासन, पारदर्शिता र उत्तरदायित्वबारे समाजमा नयाँ चेतना थप्ने विश्वास व्यक्त गरे।