सिंजा क्षेत्रको सार्वजनिक गाडिको भाडा दर शुलभ गराउन स्थानीयको ध्यानाकर्षण

जुम्ला :जुम्लाको सिंजा क्षेत्रमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनको भाडादर महँगो भएको भन्दै स्थानीयले भाडा दर नियमित र सुलभ बनाउन माग गरेका छन्। भाडा बढ्दो मनोमानी रोक्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पौडेललाई ध्यानाकर्षण पत्रसमेत बुझाइएकाे छ।

स्थानीय अगुवाहरूले सडक सञ्जाल सुध्रिँदै गइरहेको र यातायात सहज बनेको अवस्थामा पनि सवारी साधनहरुले कहिले भाडा घटाउने, कहिले बढाउने गरी मनपरी शुल्क असुल्दै आएको बताएका छन्। उनीहरूकाे भनाइमा पक्की भइसकेको कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकमा पिस्सी, ग्राभिलसहित सवारी आवागमन सहज छ तर भाडादर भने अझै अव्यवस्थित छ।

ध्यानाकर्षण पत्रमा उल्लेख छ, “सार्वजनिक यातायात व्यवसायीले मनपरी रूपमा भाडा उठाउने गरेकाले यात्रुहरू अत्यधिक मर्कामा परेका छन्। नेपाल सरकारको ऐन, नियम तथा कार्यविधिअनुसार जुम्लाभित्र चल्ने सार्वजनिक यातायातका सवारीको भाडादर तत्काल कायम गरिदिनुहुन अनुरोध गर्दछौँ।”

स्थानीय हर्षबहादुर शाहीकाे भनाइमा सडक स्तरोन्नति भइसकेको छ, इभाे (EV) गाडी समेत चल्न थालिसकेको छ, तर भाडा महँगो भएकाले तुरुन्तै नियमित गर्न आवश्यक छ। स्थानीय प्रयाग आचार्यले पनि सरकारले तोकेको दरमै भाडा निर्धारण हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यस विषयमा छिट्टै गम्भीर छलफल अघि बढाउन जरुरी छ।

प्रजिअ  पौडेलले दुई वर्षअघि भाडादरकाे पुनरावलोकनका लागि समिति गठन गरिएको जानकारी दिँदै समितिलाई पुनः सक्रिय गराई आइतबार बिहान ११ बजे छलफल बस्ने प्रतिबद्धता जनाएका छन्। जुम्लामा आएको दुई हप्ता नपुग्दै स्थानीयले नयाँ प्रजिअसँग विभिन्न समस्याबारे सुझाव र माग राख्दै आएका छन्।

हाल जुम्ला बजारबाट नाग्मसम्म ४०० रुपैयाँ, नराकोटसम्म ७०० रुपैयाँ र गुठिज्यूला जान ८०० देखि १,००० रुपैयाँसम्म भाडा असुल्ने गरिएको स्थानीयले बताएका छन्। बीच–बीचमा थप महँगो भाडा लिने गरिएको गुनासो उनीहरूले सार्वजनिक गरेका छन्।

सम्बन्धित समाचार