मर्यादा,समानता र मानवअधिकारका लागि मर्यादित महिनावारी दिवसको अवसरमा जुम्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जुम्ला : ७०औँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा महिनावारीसँग सम्बन्धित हिंसा, कानुनी व्यवस्था तथा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम जुम्लामा सम्पन्न भएको छ। कार्यक्रम सामाजिक विकास कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा, चन्दननाथ नगरपालिका तथा विभिन्न सरोकारवाला संस्थाको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा महिला तथा बालबालिका शाखामा कार्यरत कमला कठायतले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानसँगै डिसेम्बर ८ मा परेको मर्यादित महिनावारी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले महिनावारीसँग जोडिएका हानिकारक र भेदभावपूर्ण अभ्यास हटाउनुपर्ने आवश्यकता औँल्याउँदै महिनावारी र मानवअधिकार, कानुनी व्यवस्था तथा महिनावारीसम्बन्धी कानुनी कारबाहीका विषयमा प्रशिक्षण दिइन्। उनले महिनावारीलाई आधार बनाएर महिलामाथि हुने विभेद, हिंसा तथा गलत विश्वासले महिलालाई अनेक जोखिममा पुर्याइरहेको बताइन्।उनका अनुसार २०७५ सालदेखि मन्त्रीस्तरीय निर्णयअनुसार मर्यादित महिनावारी दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।
त्यस्तै चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतले महिनावारी प्राकृतिक प्रक्रिया भएको र यसलाई ‘छुई’ अथवा अशुद्धताको रूपमा हेर्ने कुनै वैज्ञानिक आधार नभएको स्पष्ट पार्दै महिनावारीका चरण, स्वास्थ्य पक्ष तथा स्थानीय तहमा सञ्चालन भएका प्याड व्यवस्थापन, आयरन चक्की वितरण तथा किशोरीमैत्री कार्यक्रमबारे जानकारी गराए। उनले महिनावारी भएकै कारण महिलालाई छुई भनेर छुट्याउने गलत अभ्यास तुरुन्त अन्त्य गर्नुपर्ने धारणा राखे।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत क्षेत्रबहादुर बुढाथापाले चेतनामूलक कार्यक्रमहरू भइरहे पनि सूचनाको पहुँच आवश्यक व्यक्तिसम्म पुग्न नसकेको दुख व्यक्त गर्दै पुराना सामाजिक मानसिकता नहटेसम्म महिनावारी सम्बन्धी अन्धविश्वास हट्न नसक्ने बताए। उनले सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र नकारात्मक अभ्यास त्याग्न समाज सबै तह–तप्काबाट सक्रियता आवश्यक भएको धारणा राखे।त्यस्तै कार्यक्रममा सामाजिक विकास कार्यालय जुम्लाका अधिकृत शिवशंकर चौलागाईंले १६ दिने अभियानअन्तर्गत डिसेम्बर ८ मा परेको मर्यादित महिनावारी दिवसको मुख्य जिम्मेवारी सामाजिक विकास कार्यालयले वहन गरेको बताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद दिए। उनले अन्तरक्रिया कार्यक्रममा सिकिएका विषयहरू व्यवहारमा लागू गर्न आग्रह गरे। कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, विद्यार्थी तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।








