लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कनका सुन्दरी गाउँपालिकामा एड्स दिवस मनाइयो
जुम्ला: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरपारेर डिसेम्बर १ मा कनका सुन्दरी गाउँपालिकामा विविध सचेतनामूलक कार्यक्रमसहित विश्व एड्स दिवस मनाइएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको होकार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग जुम्लाका कार्यालय प्रमुख कल्पना नेपाल आचार्यले लैंगिक हिंसा महिला मात्र नभई पुरुष तथा समुदाय सबैमाथि पर्ने समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन्। “महिलामाथि हुने हिंसा विकासको मूल अवरोध हो,” भन्दै उनले जुम्ला जिल्लामा यौनजन्य हिंसा, बालिका करणी तथा घरेलु हिंसाका कारण मानसिक समस्या भोग्ने महिलाको संख्या बढ्दो क्रममा रहेको जानकारी गराइन्। उनका अनुसार मानवअधिकार आयोगले हिंसा न्यूनीकरण तथा हानिकारक अभ्यास अन्त्यका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेकाे बताईन ।
त्यसैगरी कनका सुन्दरी गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाले लैंगिक हिंसा अन्त्यका लागि सञ्चालन भइरहेका अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्। “विभिन्न कार्यक्रम भए पनि महिलामाथि हुने हिंसा तथा छुईप्रथा जस्ता गलत परम्परा अझै पनि समाजमा विद्यमान छन्,” भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरिन्।
एड्स दिवससम्बन्धी सचेतनामूलक कार्यक्रममा गाउँपालिकाको महिला शाखा, स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।









