चन्दननाथमा ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

जुम्ला, चन्दननाथ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। महिला तथा बालबालिका शाखाको आयोजनामा भएको प्रभातफेरी तथा औपचारिक कार्यक्रममा कार्यवाहक मेयर रवि थापा प्रमुख अतिथि रहेका थिए भने नगर स्तरीय अपांगता सञ्जालका अध्यक्ष यज्ञ बहादुर बुढ्थापा अध्यक्षतामा कार्यक्रम अघि बढेको थियो।

कार्यक्रममा बोल्दै नगर स्तरीय अपांगता सञ्जाल सदस्य कमला सेजुवालले अपांगता जन्मजात मात्र नभई विभिन्न कारणले हुने हुँदा राज्यले उनीहरूको क्षमताअनुसार रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताइन्। उनले दया–मायाभन्दा सम्मान, अवसर र सहभागिताको आवश्यकता औंल्याउँदै अपांगता भएका व्यक्तिलाई घृणा होइन, अवसर दिनुपर्नेमा जोड दिइन्।

महिला तथा बालबालिका शाखा प्रमुख अम्बिका मल्लले दिवसले अपांगता भएका व्यक्तिका हक–अधिकार संरक्षणमा सचेतना फैलाउने अभियानका रूपमा काम गर्ने बताइन्। उनले यसअघि अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको र नगरपालिकामा ४३ जना अपांगता भएका बालबालिका दर्ता भइसकेको जानकारी गराइन्। साथै अपांगता भएका महिलालाई नगरपालिकाले अनुदान तथा अन्य सेवासुविधा उपलब्ध गराइरहेको बताइन्।

कार्यक्रममा अपांग पुनःस्थापना विकास केन्द्रकी सदस्य कमला बुढाले संविधानमा व्यवस्था गरिएका अधिकारहरू व्यवहारमा लागू गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्। विगतमा दिवस मनाउनसमेत कठिनाइ हुने अवस्था आज परिवर्तन भइसके पनि अझै काम बाँकी रहेको उनको भनाइ थियो। “हामीलाई माग्नेमात्र हैन, अधिकारसहित कर्तव्य बोध गरिने वातावरण चाहिन्छ,” उनले भनिन्,राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले अपांगता भएका व्यक्तिको सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताइन्। राज्यको ध्यान पुग्न नसकेका मुद्दाहरूमा आयोगले निरन्तर प्रतिवेदनमार्फत सम्बोधन गराइरहने उनको भनाइ थियो।

त्यस्तै, चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले शारीरिक अपांगता भन्दा बौद्धिक अपांगता चुनौतीपूर्ण हुने बताए। शारीरिक रूपमा अपांग भए पनि मानसिक रूपमा दृढ भएर काम गर्ने धेरै उदाहरण हामीसँग छन्,” उनले भने। अभिभावक र राज्य दुवै पक्षले दायित्व बुझे अपांगता भएका व्यक्तिको भबिष्य उज्ज्वल हुने उनको विश्वास थियो।

दिवसको अवसरमा चन्दननाथ महिला तथा बालबालिका शाखाले अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको थियो। कार्यवाहक मेयर रवि थापा, अध्यक्ष यज्ञ बहादुर बुढ्थापा तथा वडाध्यक्ष बृख बहादुर कार्कीले वितरण कार्यक्रम सम्पन्न गरेका थिए।