लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान : गाउँगाउँमा पुग्दै राष्ट्रिय मानवअधिकार आयोग,जुम्ला
जुम्ला :लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला हाल गाउँगाउँमा सक्रिय रूपमा पुगेको छ। झण्डै एक वर्षदेखि कामविहीन जस्तै अवस्थामा देखिएको आयोगले पहिलो पटक महिला प्रमुख पाएसँगै जनस्तरमा पहुँच विस्तार गरेको छ। गत भदौदेखि कार्यभार सम्हाल्नुभएकी प्रमुख कल्पना नेपाल आचार्य नियुक्तिसँगै आयोग जुम्लाका दुर्गम बस्तीसम्म निरन्तर कार्यक्रम लिएर जाँदै आएको छ।यही क्रममा आयोगको टोली गुठीचौर गाउँपालिका–५ को कुम्री गाउँ पुगेको थियो। १६ दिने अभियानअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा छुई प्रथा, छुवाछूत, मानव अधिकार, महिला अधिकार, घरेलु हिंसा, बालबालिका सुरक्षा लगायतका विषयमा स्थानीय महिलामाथि सशक्तिकरणमूलक प्रशिक्षण प्रदान गरिएको थियो। प्रमुख आचार्यका अनुसार “समुदायमा हुने हरेक प्रकारको हिंसा रोक्न सबै पक्षको सामूहिक भूमिका अनिवार्य छ। यस्ता समस्या भएकै कारण आयोग जनस्तरमा पुगेर सचेतना अभिवृद्धि गरिरहेको छ।”
आचार्यका अनुसार पछिल्ला महिनामा जुम्लामा यौनजन्य हिंसा, बालिका बलात्कार तथा घरेलु हिंसाका घटनामा वृद्धि देखिएको छ। हिंसाका घटनापछि पीडित महिलामध्ये धेरैजसो मानसिक तनाव, सामाजिक बहिष्कार र दीर्घकालीन आघातको समस्याबाट पीडित हुने गरेको आयोगले जनाएको छ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग, जुम्लाले हिंसा रोकथाम र मानवअधिकार प्रवर्द्धनका लागि आगामी दिनमा निम्न कार्यलाई प्राथमिकताका रूपमा अघि सारेको छ।दुर्गम बस्तीमा नियमित मानवअधिकार शिक्षा तथा सचेतना कार्यक्रम विस्तार,पीडितको पहुँच अझ सहज बनाउन स्थानीय तहसँग सहकार्य गरि जुम्लामा भईरहेका यौनजन्य हिंसा तथा बालबालिका हुने अपराधका घटना न्यनिकरणका लागि राज्यकाे ध्यानाकर्षण गर्ने राष्ट्रिय मानवअधिकार आयाेग जुम्लाले जनाएकाे छ ।
प्रमुख नेपाल ,आचार्यका अनुसार हिंसा रोकथामका लागि कानुनी संरचना मात्र पर्याप्त हुँदैन; समुदायको जागरूकता, स्थानीय सरकारको सक्रियता र सुरक्षा संयन्त्रबीचको आपसी सहकार्य अपरिहार्य छ।१६ दिने अभियानकै अवसरमा आयोगले जुम्लाका अन्य बस्तीहरूमा पनि निरन्तर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसबाट हिंसाविरुद्धको आवाज गाउँ–गाउँसम्म पुग्ने अपेक्षा गरिएको छ।









