गोलीको चोट देखि आत्मनिर्भरता हुँदै : मोतिलाल रोकायाको प्रेरणादायी यात्रा


जुम्ला : जनयुद्ध समयको,एउटा गोलीले तिला गाउँपालिका–७ का मोतिलाल रोकायाको जीवनलाई पुरै बदलिदियो। दायाँ खुट्टाको घुँडामुनि लागेको गोलीको चोटले उनी वर्षौँसम्म शारीरिक पीडासँग संघर्ष गर्न बाध्य भए। भारी बोक्ने, खेतबारीका काम गर्ने वा कुनै पनि सामान्य शारीरिक श्रम गर्न उनका लागि चुनौती नै थिए । तर कठिनाइ बीच पनि उनको जीवन संघर्ष रोकिएन। ‘ उनलाई अब परिवार कसरी चलाउने ? छोराछोरीलाई कसरी पढाउने ?’ यही चिन्ताले मोतिलाललाई निरन्तर पिरोलिरह्यो।
सीप विकासले खोलेको नयाँ जीवन दिशा
करीब १४ वर्षअघि अपांग पुनस्र्थापन तथा विकास केन्द्रले गठन गरेको समूहमा मोतिलालको सहभागी भएपछि उनको जीवनमा वास्तविक नयाँ मोड आएको हो। समूहमा अपांगता भएका व्यक्तिका समस्या, आर्थिक अवस्था र सम्भावित आय–आर्जनका विषयमा निरन्तर छलफल भइरहन्थ्यो।यही क्रममा मोतिलालले आफ्नो कठिन जीवनयात्रा सुनाए ।शारीरिक असक्षमता, कमाइको अभाव र छोराछोरीको भविष्यको चिन्ता गरे । समूहले उनी चाहे अनुरूप सिलाई–कटाई तालिम उपलब्ध गरायो। आईएनएफ जुम्ला र एभिलिज फाउन्डेशनको सहकार्यमा उनी न केवल सीप सिके, ८०% सहयोगमा एक सिलाइ मेशिन समेत पाए। यही मेशिन नै पछि उनको जीवन धान्ने प्रमुख आधार बन्यो।
सिलाई कटाई नै आय–आर्जनको भरपर्दो माध्यम
अहिले मोतिलाल आफ्नो गाउँकै भरपर्दा सिलाई–कटाई सेवा प्रदायक बनेका छन्। उनी दैनिक रूपमा विद्यालय पोशाक, पाइन्ट–शट, चोलो, पेटिकोट, बालबालिकाका कपडा जस्ता धेरै प्रकारका कपडा सजिलै सिलाइ दिन्छन्। विद्यालय लाग्ने समय र धार्मिक पर्वको बेला त कामले उनलाई भ्याई नभ्याई नै हुन्छ।
छ वटा बच्चाको लालन पालन
मोतिलालका अनुसार जेठी छोरीको १२ कक्षा पूरा,माइली छोरीको ११ कक्षा अध्ययन,सबै सम्भव भयो ।त्यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया भन्छन, “अपांगता भएर पनि मिहिनेत र सीपको भरमा उद्यम सञ्चालन गरेको देख्दा गर्व लाग्छ। स्थानीय सरकारले यस्तै व्यक्तिलाई थप प्राथमिकता दिनु पर्छ। मोतिलालको १४ वर्षअघिको मेशिन अहिले बिग्रिन थालेपछि मोतिलालको रोजगारी नै प्रभावित भइरहने चिन्ता छ ।उनको गाउँमा अहिले पर्याप्त बिजुली भएकाले उनी बिजुलीमा चल्ने नयाँ र आधुनिक सिलाई–मेशिन अत्यावश्यक भएको बताउँछन्।
परिवारको सम्पूर्ण खर्च यही सीपमा भर परेको भएकाले नयाँ मेशिन किन्न स्रोत जुटाउन उनी संघर्षरत छन्।
त्यस्तै मोतिलाल अहिले पनि अपांग पुनस्र्थापन तथा विकास केन्द्र मा अपांगता पहिचान तथा क्षमता विकास कार्यक्रममा सक्रिय रूपमा सहभागी छन्।त्यहाँ उनले अपांगता भएका व्यक्तिका अधिकारका बिषय जानकारी गराउछन ।सामाजिक समावे शीकरणका अभ्यासबारे स्पष्ट जानकारी पाइरहेका छन्।त्यस्तै पनि अपांग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष रामकृष्ण न्यौपाने भन्छन् “मोतिलाल जस्ता व्यक्तिहरू सीप सिकेर आत्मनिर्भर बन्ने छन । यस्ता उद्यमीलाई राज्यले निरन्तर सहयोग गर्नुपर्छ।”
मोतिलालको कथा किन महत्वपूर्ण
अपांगता–पछिको जीवनमा सीप नै मुख्य समाधान,सहायता भन्दा पनि दीर्घकालीन सीप विकास नै वास्तविक परिवर्तन ल्याउने बुझाइ मोतिलालको कथाले दिन्छ ।सामुदायिक सहकार्यको सफल मोडेल,गाउँ, स्थानीय संस्था र अन्तर्राष्ट्रिय साझेदारबीचको समन्वयले अपांगता भएका व्यक्तिको जीवनमा ठोस प्रभाव पार्न सकिन्छ।
सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन
अब गाउँले मोतिलाललाई ‘अपांग’ भनेर होइन, ‘सीपयुक्त उद्यमी’ भनेर चिन्ने गरेका छन् ।मोतिलाल जस्ता ब्यक्ति लाई निरन्तर उपकरण र स्रोतहरूको आवश्यकता एकपटकको सहयोग पर्याप्त गर्न जरुरी छ। उपकरण, तालिम र अनुकूलनका लागि निरन्तर समर्थन आवश्यक छ ।
अंपगता भएका ब्यक्तिका लागि मोतिलाल, प्रेरणाको स्रोत
मोतिलालले एउटा सन्देश दिएका छन ,शारीरिक अपांगता जीवनको अन्त्य होइन, नयाँ सुरुवात पनि बन्न सक्छ भनेर ।जीवन–यापनदेखि छोराछोरीको शिक्षासम्म, मोतिलाल अहिले आफ्नो सीपको आधारमा सफलतापूर्वक अघि बढिरहेका छन्।मोतिलालको कथा जुम्लाका अपांगता भएका व्यक्तिहरूका लागि प्रेरणादायी बनेको छ।

सम्बन्धित समाचार