जुम्लामा बिरामी आमा कुरिरहेका ११ वर्षिय बालकको स्थलगत अनुगमन गर्दै राष्ट्रिय मानव अधिकार आयोग
जुम्ला : आमा बिरामी र बुवाको मृत्यु भएपछि विद्यालय छोडेर अस्पतालमै आमा कुरिरहेका ११ वर्षीय बालकको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो जनाएको छ। यश अघि महिला जागरण अनलाइन जुम्लाले “आमा अस्पतालको शैय्यामा, ११ वर्षको बालकले भने ,अब मलाई भात दिने मान्छे छैन, म स्कुल कसरी जानु भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि मानव अधिकार आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाले घटनास्थलको स्थलगत अनुगमन गरेको हो।
समाचार सार्वजनिक भएको भोलिपल्टै आयोगकाे टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल पुगेर अस्पतालको शैय्यामा एक वर्षदेखि स्पाइनल–कर्डको रोगका कारण उपचाररत ४० वर्षीया दर्शनादेवी दमाई र उनका ११ वर्षीय छोरा विकास दमाईलाई भेटेर अवस्थाबारे जानकारी लिएको छ।
आयोगका जुम्लाका कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) नायब सुब्बा राजकुमार विश्वकर्माकाे टाेलि बालकले विद्यालय छोड्नुपरेको परिस्थिति, परिवारको आर्थिक अवस्था र आमाको उपचारको प्रगति बारे अस्पतालका स्वास्थ्यकर्मीहरूसँग छलफल गरेको थियो। प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूका अनुसार दर्शनाको घाउ निको हुँदै गएको र उनको उपचार अहिले निशुल्क रूपमा अघि बढाइरहेको जानकारी दिइएको छ।
मानव अधिकार आयोगकी शाखा कार्यालय जुम्लाका प्रमुख आचार्यले बालकले शिक्षाको अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक सम्पूर्ण निकायको समन्वयमा कदम चालिने बताइन्। उनका अनुसार, “बच्चाको पढ्न पाउने अधिकार सुनिश्चित गर्न राज्यका सबै निकाय जिम्मेवार हुनुपर्छ। आयोगले यस विषयलाई विशेष चासोका साथ अघि बढाउनेछ।”
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगको स्थलगत अनुगमनपछि बालकको शिक्षासम्बन्धी व्यवस्था र आमा–छोराको समुचित संरक्षण तथा सहयोगका लागि पहल बढ्ने अपेक्षा गरिएको छ।








