तिजलाई महिलाहरूको क्षमता विकाससँग जोड्नुपर्छ : उपसभामुख न्यौपाने
जुम्ला : कर्णाली प्रदेशसभाका उपसभामुख यसोधा न्यौपानेले तिजलाई महिलाहरूको क्षमता प्रदर्शन र विकासको अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघु त्रिवेणीमा हरितालिका तिज विशेष देउडा कार्यक्रममा सहभागी हुँदै उहाँले स्थानीय सरकारहरूले महिलाको प्रतिभा अभिव्यक्तिका लागि तिजलाई प्रोत्साहन गर्नुपर्नेमा बताउनु भयाे ।
उहाँले दानसाँघु क्षेत्रलाई धार्मिक पर्यटनका दृष्टिले विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। साथै, कर्णाली प्रदेशसभाले गरिरहेका कामहरूको जानकारी पनि दिनुभयो।
तिज विशेष देउडा कार्यक्रममा देउडा गायक बिपना सिंह र जुम्लाका गायक धिरज जैसी बीच दिनभर प्रस्तुति गर्नु भएकाे थियो। अध्यक्ष तिलक प्रसाद न्यौपानेले खस सभ्यताको जगेर्ना र महिलाको प्रतिभा प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो।
यसैबीच, जुम्लाको टुडिखेलमा सयौं महिला भेला भई नाचगान गर्दै तिज मनाइएको छ। उपसभामुख न्यौपानेले टुडिखेलमा भईरहेको तिज कार्यक्रमको समेत अवलोकन गर्नुभएको छ।









