अपरेशन बिग्रिएपछि उपचाररत १७ वर्षीय डिकेश नाथ योगीको निधन, शव नबुझ्ने आफन्तको घोषणा

जुम्ला हिमा गाउँपालिका–३ निवासी १७ वर्षीय डिकेश नाथ योगीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा निधन भएको छ।

गत जेठ २५ गते पेट दुखाइका कारण अस्पताल भर्ना गरिएका डिकेशको अपरेशन गरिएको थियो। तर शल्यक्रिया बिग्रिएपछि उनको स्वास्थ्य झन् गम्भीर बन्दै गएको आफन्तहरूको दाबी छ। निरन्तर उपचारमा रहे पनि अन्ततः शनिवार बिहाना सात बजे उनको निधन भएको हो।

निधनलगत्तै आक्रोशित आफन्तहरू विहानैदेखि अस्पताल परिसरमा उत्रिएका छन्। उनीहरूले चिकित्सकहरूको लापरवाहीकै कारण डिकेशको ज्यान गएको आरोप लगाउँदै शव नबुझ्ने घोषणा गरेका छन्।

मृतकका आफन्तहरूले स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।
“सामान्य पेट दुखाइको अपरेशनमै छोराले ज्यान गुमाउनु पर्‍यो, हामी यसरी शव बुझ्दैनौं,” एक आफन्तले भने।यस घटनाले पुनः कर्णाली प्रतिष्ठानको उपचार प्रणालीमाथि प्रश्न खडा गरेको छ।