गैरकानुनी रूपमा खाडी मुलुक लैजान लागिएका ४० नेपाली महिलाको उद्धार
जुम्ला :गैरकानुनी रुपमा भारत हुँदै घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबई लगायतका खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई उद्धार गरिएको छ।
Kin India संस्था, नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सक्रिय सहयोगमा साउन २१ गते राति (अगस्ट ६) ती महिलाहरूको उद्धार गरेको हो। उद्धार गरिएका महिलाहरूलाई सुनौली नाका हुँदै आज काठमाडौं ल्याइँदै छ।
Kin India का नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार, उद्धार गरिएका सबै महिलाहरू दलालहरूको झूटो प्रलोभनमा परेका थिए। ती महिलाहरूलाई घरेलु कामदारका रूपमा अवैधानिक तवरले खाडी मुलुक पुर्याउने योजनामा तस्करहरू लागेको सूचना पाएपछि उद्धार अभियान चलाइएको थियो।
भट्टराईले भन्नुभयो, “यस्ता अवैधानिक मानव तस्करीका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्, त्यसैले सरकार र सरोकारवालाबीच अझ प्रभावकारी समन्वय आवश्यक छ।
Kin India ले मानव तस्करविरुद्ध निरन्तर निगरानी, उद्धार र पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।








